हेटौँडा : बागमती प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री कुन्दनराज काफ्लेले जस्तोसुकै परिस्थितिमा पनि पार्टी नछोड्ने बताएका छन् । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य समेत रहेका काफ्लेले आफू पार्टीको इमानदार सिपाही भएकोले पार्टी प्रति प्रतिवद्ध रहेको बताएका हुन् ।
उनले सामाजिक सञ्जाल मार्फत धारणा सार्वजनिक गर्दै काफ्लेले कांग्रेसलाई बलियो बनाउन त्याग गर्न समेत तयार रहेको बताएका छन् । उनले महामन्त्री गगन थापाको ‘राजनीति सरल रेखामा हिँड्दैन’ भन्ने भनाइ र स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको ‘मूल्यमान्यताको राजनीति’ को मन्त्रलाई आत्मसात गर्दै आफू यहाँसम्म आइपुगेको बताए । विद्यार्थी राजनीतिदेखि नै आन्दोलनको अग्रमोर्चामा रहँदै आएका उनले आफ्नो स्वभाव अलि ‘खरो’ र ‘जुझारु’ देखिए पनि त्यो पार्टी हितकै लागि भएको स्पष्ट पारेका छन् ।
‘कतिपय अग्रजका लागि मेरो स्वभाव उग्र लाग्यो होला, तर यो मेरो राजनीतिक सम्पत्ति बनिसक्यो, यसमा सम्झौता गर्न सक्दिनँ ।’ उनले भनेका छन्, ‘मैले कहिल्यै कांग्रेसको कुभलो चिताइनँ, सधैं पार्टीको शिर उँचो बनाउन ज्यान हत्केलामा राखेर हिँडेको छु । म सिटौला दाइको छहारीमा छु । तर यसको अर्थ अन्य अग्रज नेताहरुलाई अपमान गर्ने अधिकार म राख्दिनँ । सबै नेताप्रति मेरो सम्मान छ ।’
उनले अहिलेको आवश्यकता सवल, नूतन र एकढिक्का कांग्रेस भएको औँल्याए । पार्टीले सिपाहीका रुपमा मैदान खटिन तथा त्याग गरेर धैर्यताको परीक्षा लिन्छ पनि तयार रहेको उनको भनाई छ । चारतारे झण्डा र रुखसहितको कांग्रेस थप बलियो, जनमुखी र ऊर्जाशील हुनुपर्नेमा उनले जोड दिएका छन् ।
