हेटौँडा : नेपाल जुडो महासंघको आयोजनामा बीसौं राष्ट्रिय जुडो प्रतियोगिता आज शनिबारदेखि हेटौँडामा हुँदैछ । महासंघको केन्द्रिय समितिले शुक्रबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै शनिबारदेखि प्रतियोगिता हुने जानकारी गराएको हो ।
हेटौँडा–४ स्थित कभर्डहलमा हुने प्रतियोगिता पूर्व जुडो खेलाडी एवम् बागमती प्रदेश सभा सदस्य नुरज बज्राचार्यले उद्घाटन गर्नुहुनेछ । सोमबारसम्म हुने प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नेपाल एपिएफ गरी १० वटा टिमको ७८ जना पुरुष खेलाडी र ६३ जना महिला खेलाडीको सहभागिता रहने नेपाल जुडो महासंघका महासचिव प्रकाश चन्द्र पाण्डेले जानकारी दिनुभयो ।
प्रतियोगितामा महिलातर्फ ४८ केजी, ५७ केजी, ७० केजी र ७८ केजी समूहमा प्रतिस्पर्धा हुनेछ भने पुरुषतर्फ ६० केजी, ६६ केजी, ८१ केजी र १०० केजी तौल समूहमा प्रतिस्पर्धा हुने जनाएको छ । प्रतियोगितामा सबै क्षेत्र तथा तौल समूहमा गरी १४ स्वर्ण, २८ काश्य तथा ५६ रजत गरी ९८ पदकका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा स्वर्ण, काश्य र रजत पदक विजेताले क्रमशः ५ हजार, ३ हजार, २ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
