Home शिक्षा अन्तिम यात्रा ?

अन्तिम यात्रा ?

जन्म र मृत्यु निरन्तर रूपमा चलिरहने प्रक्रिया हो । सबैलाई थाहा छ । जन्मको विपरीतार्थी मरण हो । जन्मेपछि मर्नैपर्छ तर पनि किन मानिस जन्ममा खुसी र मृत्युमा दुःखी हुन्छ ? मानिस जन्मँदा घर उज्यालो हुन्छ, जताततै दीयो झुल्किन्छ । सबैको मनमा शान्ति छाउँछ भने मानिसको मृत्यु हुँदा किन त्यही घर अँध्यारोे ? किन दीयोले झुल्किएर प्रकाशमय बनाउन सक्दैन ? किन मनमा अशान्तिले बास गर्छ ? जीवन एक यात्रा हो । यो यात्रा धर्तीमा पाइला टेक्ने पहिलो वा सुरुवातको चरण दिन, महिना गन्दै सबैलाई सूचना प्रवाह गराएर आउँछ भने अन्तिम यात्राको सूचना किन कसैलाई प्रवाह हुँदैन ?

लरक्क शरीर मिठो मुस्कान तिम्रो आफ्नै थियो निजीपना
मिठो बोली सरल शैली फर्कन्थे तिमीमा सधैँ मानवीयपना ।।

लरक्क शरीर लर्काउँदै मिठो मुस्कानमा ‘गुरुमा मलाई गाह्रो भइरहेको छ, मलाई सहयोग गर्नु न ।’ ‘मेरो नै भ्याई नभ्याई भइरहेको छ, कापी परीक्षण गर्न नै भ्याएको छैन ।’ कापी परीक्षण म गरिदिन्छु हजुर मेरो कक्षामा आएर कथा लेखन सिकाइदिनु न ।’ हुन्छ नि गुरुमा पहिला मेरो सकियोस् अनि म हजुरलाई सहयोग गर्छु ।’ ‘हजुरको सकिँदा त मेरो पनि सकिहाल्छ नि ।’ भन्दै हामीबीच भएको संवाद अन्तिम संवाद हो भन्नेमा हामी दुबै अन्जान थियौँ । सहयोगका लागि गरिएको आस पनि अन्तिम थियो । उनीसँगै बसेर मनका भाव साटासाट गर्ने अवसर पनि अन्तिम थियो ?

प्रकृतिको नियम हो, संसारको सृष्टि हो । पृथ्वीले सूर्यको परिक्रमा वा चक्र लगाएझैँ जीवनको चक्र पनि घुम्छ । बीउ रोपेपछि उम्रन्छ, विरुवा, पोथ्रा, रुख हुँदै फूल फुल्छ, फल लाग्छ । निश्चित अवधि पुगेपछि फूल मुर्झाउँछ, फल पाक्छ अनि झर्छ । फूल फुल्ने र फुल फलाउने रुख वा बोटको अवधि पुग्दै गएपछि उसले सङ्केत गर्छ, मेरो अवधि समाप्त हुँदैछ । मैले अब मेरो अस्तित्व गुमाउने छु र फेरि नयाँ जन्म लिनेछु ।

यो ध्रुव सत्य हो जन्मेपछि त मर्नैपर्छ । यस पृथ्वीमा भएका सम्पूर्ण जीवात्माले एकदिन प्राण त्याग्नैपर्छ तर समय आएपछि मात्र । अपवादका रुपमा केही समयावधिभन्दा अगाडि…। तिमी अपवादमा नै परेकी हौ त प्रिया ?

उनीसँग मेरो न त रगतको नाता थियो न त वर्षौ वर्ष अघिदेखि मिलेको मन थियो । मात्र केही वर्ष अगाडि हाम्रो चिनजान, भेटघाट र मित्रता कर्मथलोले गाँसिदिएको थियो । कर्मथलोमा गाँसिदिएको यो मित्रता आत्मियता र भावनात्मक बन्दै गयो । उनी मनभित्र गुम्सिएका तरेली पोख्ने वक्ता बन्थिन्, म कुशल श्रोता बन्थेँ । के अब उनी वक्ता म स्रोता र म वक्ता उनी स्रोता बन्ने दिन फेरि दोहोरिँदैन त ? हाम्रा भावना फेरि साटिँदैन त ? के त्यो मुस्कान फेरि झुल्किँदैन त ? गुलाफ फर्किएर मुसुक्क हाँसेर सुवास छरेजस्तै मेरी सखीले मुस्कान छर्दिनन् त अब ?

निष्ठुरी दैवले तिम्रा पाइलामा पूर्णबिराम लगाएकै हुन त ? पूर्णबिरामपछि पनि वाक्य, अनुच्छेद हुँदै काव्यले विशालरुप लिएझैँ तिम्रा वाक्य, अनुच्छेदले विशाल रुप लिने छैनन् र तिम्रा काव्यमा दैवले पूर्णबिराम लगाएकै हुन त ? हे ! निष्ठुरी दैव तिमीले उनको अस्तित्व मेटाएकै हौ त ? तिमीले अन्याय गर्‍यौ ? तिमीले बनाएका नियम कानुन तिमी आफैँले किन मिच्यौ ? त्यसको सजाय तिमीलाई कि हामीलाई ? सृष्टिका नियम अनुसार उनका चालिएका पाइला समय अगावै तिमीलाई रोक्ने कुनै अधिकार छैन । ती वृद्ध बुबा आमाको कोख किन रित्यायौ ? ती बालकका ममतामयी न्यानो काख किन खोस्यौ ? ती निर्दोष श्रीमानबाट साथ छुटाई किन टाढा गरायौ ? ती निर्दोष बालकलाई किन जीवन र मृत्युसँग सङ्घर्ष गराउँदैछौ ? तिमी निष्ठुरी दैव हौ । तिमीलाई कठघरामा कसले उभ्याउँछ ? तिमी निष्ठुरी दैवलाई दोषी ठहर्‍याउने न्यायाधीश यस जगत्मा छैनन् त ? तिमीलाई नजरबन्द गर्ने बन्दीगृह नै नबनेको हो त ?

अन्तिम पटक भएपनि त्यो तिम्रो अनुहार हेरेँ प्रिया ! कुम कुम सम्मको कालो कपाललाई स्वतन्त्र छोडी सिउँदोमा रातो सिन्दुर, निधारमा रातो टिका, रातो लिबिस्टिकको शृङ्गारमा आफूलाई मुस्काउने मेरी प्रिया ! सेतो कात्रोको घुम्टी ओढ्दा पनि त्यही शृङ्गारमा मुस्कुराइरहेकी थियौ । मात्र फरक तिमी मौन थियौ । तिमीले मौनताको च्यादर ओढेकी थियौ । तिम्रा त्यत्रा आफन्त, इष्टमित्र, तिम्रो परिवार, तिम्रो श्रीमान, तिम्रो सन्तान, तिम्रा साथी सङ्गी सबैले तिमीलाई आँसुले पुकार गर्दा पनि तिमी मुक दर्शक बनी मुस्कुराइरह्यौ मात्र ?

चाहेर होस् या नचाहेर तिमी आफ्नै अन्तिम यात्राको तयारीमा थियौ सायद । त्यसैले त मौन थियौ । आँशुको समुन्द्रमा निथ्रुक्क डुबेका, तिम्रो बिछोडमा बिरक्तिएका, बैशाखी साहारामा श्रीमान्लाई उभ्याई तिमी फेरि दोस्रो पटक बेहुली भयौ । हामी सबै दुःखित दर्शक जन्ती भयौँ । कहिले नफर्किने डोलीमा चढेर हामीबाट तुरुन्तै तिमी बिदा भयौ । तिम्रा आफन्तले पहिलो बिदाइमा फेरि भेटिने खुसीको यादमा आँसुको साथमा पहिलो बिदाई गरेका थिए होलान् तिमीले पनि प्रतिउत्तरमा डाको छाड्दै म छिट्टै फर्कन्छु भनेर आश्वासन दिएकी थियौ होला ।

तर तिम्रो मौनतामा परिस्थिति फरक थियो कहिले नभेटिने लामो यात्राको लागि समुन्द्रमा डुबुल्कै मार्दै तिम्रो बिदा गरे । तिमी बिदा भयौ । हामी जन्तीले तिम्रो बैकुण्ठमा बास होस् भनी आशीर्वाद दियौँ । तिम्रो भौतिक शरीरले हामीबाट बिदा लिए पनि तिमीसँग बिताएका पल, मिलेका हात, जोडिएका मन, पोखिएका भावनाले कहिले अन्तिम यात्राको बिदा लिन्छन् त ?

विपनीमा भेट नभएपनि
सपनीमा भेट है प्रिया !
मन न हो तिम्रो झल्को आइरहन्छ
मुस्कुराउँदै त्यो झल्को मेट है प्रिया ।

२०८२/०९/२० गतेको त्यो कालो दिन
थाहा भएन प्रिया तिमी कहाँ भयौ विलीन
लाग्छ संसार भयो रित्तो भयो खाली
कसरी भनौँ प्रिया तिमीलाई हार्दिक श्रद्धाञ्जली ?

शिक्षक, नवोदय शिशु सदन

Exit mobile version