हेटौँडा : बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय प्रशासनिक अस्थिरताको केन्द्र बनेको छ । पछिल्लो छोटो अवधिमा सो मन्त्रालयमा ४ जना सचिवको हेरफेर भएको छ । सो मन्त्रालयमा ५ महिनामा ४ सचिवको सरुवा भएको छ । विवाद र मन्त्रीसँगको सम्बन्ध सौहाद्र्ध नहुँदा महिना दिनमा नै सचिवको सरुवाको श्रृखला सुरु भएको हो ।
नीतिगत स्वार्थमा टकराव देखिँदा सचिवहरुको छिटो–छिटो सरुवा हुनुको कारणका रुपमा देखिएको छ । एमाले–कांग्रेस गठबन्धनबाट गत साउन २० मा गठन भएको मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको नेतृत्वमा जयराम थापाले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । कांग्रेसका मुख्यमन्त्री बानियाँ नेतृत्वमा एमालेबाट मन्त्री थापाले सो मन्त्रालय सम्हालेका हुन् । उनी मन्त्रीको जिम्मेवारीमा पुगेदेखि नै सचिवहरुको सरुवा श्रृखला सुरु भएको हो ।
मन्त्रालयमा सचिवहरुको अस्थिर यात्रा २०८२ भदौबाट सुरु भएको देखिन्छ । २०८१ पुस २५ गते संघीय सरकारबाट सरुवा भई आएका वीरेन्द्रदेव भारतीले सो मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । तत्कालीन सचिव बलराम निरौला समावेशी आयोगमा सरुवा भएपछि भारतीले जिम्मेवारी पाएका थिए । करिव ८ महिना सो मन्त्रालयको प्रशासनिक कमाण्ड सम्हालेका भारतीलाई २०८२ भदौमा आन्तरिक सरुवामा पारिएको थियो । खेलकुल मन्त्रालयमा सरुवा भएका भारती आफूलाई ह्युमिलेट गरेको भन्दै मन्त्रालयमा हाजिर नै नभई काठमाडौं हानिएका थिए । करिव १५ दिन काठमाडौं पुगेर सरुवा हुने छाट नदेखेपछि भदौ २३ मा रवाना लिएर असोजमा मात्र मन्त्रालयमा हाजिर भएका थिए ।
सरकार परिवर्तनसँगै मन्त्री थापाको चाहना अनुसार २०८२ भदौ १६ मा भारतीलाई हटाएर युवा तथा खेलकुद मन्त्रालयमा पठाइएको थियो । तत्कालिन क्याविनेटले सो भरतीको ठाउँ (श्रम मन्त्रालय) मा संघीय सरकारबाट सरुवा भई आएका नयाँ सचिव बलराम ढकाललाई जिम्मेवारी प्रदान गरिएको थियो । सो समयमा प्रदेशमा नयाँ सरकार गठन भएको थियो । तत्कालिन मुख्यमन्त्री बाहदुर सिंह लामा नेतृत्वको सरकार ढलाएर इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बनेका थिए । साउन २० मा सरकार गठन गरेका मुख्यमन्त्री बानियाँ माथि ट्याक्सी मापदण्ड फेरबदल गर्ने सर्तमा उद्योगपति एवम् कांग्रेस नेता विनोद चौधरीले सहयोग गरेको चर्चा चलेको थियो । चौधरी ग्रुपको सेडान ट्याक्सीलाई संचालन अनुमती दिने गरी मापदण्ड बनाउन विनोद चौधरी लामो समयदेखि लागी परेको र पछि बानियाँ नेतृत्वको सरकार गठन गरेर अघि बढ्ने सहमति भएको चर्चा छ । यद्यपी सो मापदण्ड हालसम्म बागमती प्रदेश सरकारबाट पारित हुन सकेको छैन ।
यता नयाँ मन्त्री र नयाँ सचिवको सहकार्यबाट फलदायी काम गर्ने अपेक्षा पनि थियो । तर, नतिजा त्यसो देखिएन । सचिव ढकाल मन्त्रालयमा १५ दिन पनि टिक्न सकेनन् । ट्रायल सेन्टरको टेण्डर र ट्याक्सी मापदण्डको विषयमा कुरा नमिलेपछि असोज ६ गते सचिव ढकाललाई आन्तरिक सरुवा मार्फत् सचिव ढकाल र भारतीको जिम्मेवारी फेरियो । सचिव ढकाललाई खेलकुद पठाइयो भने भारतीलाई दोस्रो पटक यातायात मन्त्रालयमा फिर्ता ल्याउने मुख्यमन्त्री बानियाँ र मन्त्री थापाको सहमतिअनुसार तत्कालिन प्रमुख सचिव भुपाल बरालले जिम्मेवारी समेत तोकिदिएका थिए ।
सचिव भारती असोज ७ मा नै यातायात मन्त्रालय हाजिर भएर ट्रायल सेन्टर टेण्डर प्रक्रियाका लागि पत्राचार गर्न पत्र तयार गर्दै थिए । असोज ८ मा यातायात कार्यालय बालाजुलाई सेवा विस्तारको निर्णय अनुसार प्रक्रिया अघि बढाउन सचिव भारतीले पत्र पठाएका थिए । तर, ट्याक्सी मापदण्डमा भने खासै प्रगति देखिएन । ३ महिना सो मन्त्रालयमा काम गरेका उनको पुनः सरुवा भयो । आन्तरिक सरुवाको रुपमा उनलाई प्रदेश नीति तथा योजना आयोगमा पठाइएको भने श्रम मन्त्रालयमा संघीय सरकारबाट सरुवा भई आएका रामबाबु पुरीलाई जिम्मेवारी तोकिएको थियो । तर, पुरीको कार्यकाल पनि सुखद रहेन ।
पुस १६ गते उनलाई मुख्यमन्त्री कार्यालय र सहकारी मन्त्रालय हेर्ने गरी सरुवा गरिएको छ भने हाल हेमराज भुषाललाई नयाँ सचिवका रुपमा भित्र्याइएको छ । गत मंसिर ३ मा सचिव पुरी सो मन्त्रालयमा हाजिर भएका थिए भने उनको ट्रायल सेन्टर टेण्डरको विषयमा मन्त्री थापासँग विवाद भएको थियो । आफ्नै मन्त्रालयले गरेको परिपत्रको विरुद्धमा खरिद प्रक्रिया रोक्न पुनः पत्राचार गर्नुपर्ने मन्त्री थापाको निर्देशनलाई उनले स्वीकार गरेनन् । पत्राचार गर्न नमानेका सचिव पुरी मन्त्रालयमा उपस्थित भएर पनि हाजिर भएनन् ।
सो विवादको क्रममा मन्त्री थापाले सचिव पुरीसहित २ महाशाखा प्रमुखलाई मन्त्रालय छाडेर जान भनेका थिए । मन्त्री थापा स्वयम्ले यातायात कार्यालय बालाजुको ट्रायल सेन्टरको खरिद प्रक्रिया रोक्न पत्रााचर गरेपछि विवाद थप चुलिएको थियो । सो विषयमा मन्त्री थापाको निर्देशन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश समेत गरेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन समेत गरिरहेको छ । यता सचिव पुरीसँगै श्रम तथा रोजगार मन्त्रालयका उपसचिव बिमल भट्टराईको पनि सरुवा गरिएको छ । भट्टराईको यातायात व्यवस्था कार्यालय हेटौँडाको प्रमुखमा सरुवा गरिएको छ ।
