Home मुख्य समाचार छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा ३ जना घाइते

छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा ३ जना घाइते

हेटौँडाः मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकामा भएको छुट्टाछुट्टै मोटरसाइकल दुर्घटना तीन जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । मकवानपुरको थाहा नगरपालिका–३, थानाबजारस्थित त्रिभुवन राजपथ सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री घाइते भएकी छन् ।

सोमबार बिहान १० बजेर ३० मिनेटको समयमा थानाबजारबाट ओखरबजारतर्फ जाँदै गरेको बा ९० प ३९६ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा थाहा नगरपालिका–२, पालुङ बस्ने ४३ वर्षीया रुपा श्रेष्ठलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकलको ठक्करबाट घाइते श्रेष्ठको बायाँ खुट्टा, कम्मर र अनुहारमा चोट लागेको र अवस्था मध्यम रहेको छ । प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल चालक धादिङको गजुरी गाउँपालिका–८ घर भई हाल थाहा नगरपालिका–१, ओखरबजारमा डेरा गरी बस्ने २८ वर्षीय रुस्मान तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४, महालक्ष्मी खोलास्थित फाखेल–हुमाने सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । सोमबार बिहान १० बजेर ३० मिनेटको समयमा काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बाप्र ०२–०३७ प १४४२ नम्बरको मोटरसाइकल गिट्टीमा चिप्लिएर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा–५ का २८ वर्षीय गुन्जेश सैंजु र पछाडि सवार उनकी श्रीमती २७ वर्षीया प्रविना सिंह घाइते भएका छन् । घाइते दुबैलाई उपचारका लागि काठमाडौंतर्फ पठाइएको छ ।

Exit mobile version