हेटौँडा: हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न भएको छ । सोमबार विद्यार्थीको दन्त स्वास्थ्य सुधार गर्ने उद्देश्यले रोटरी क्लव अफ हेटौँडाको पहलमा विद्यालयमा निशुल्क दन्त परीक्षण तथा उपचार शिविर सम्पन्न भएको रोटरी क्लबका अध्यक्ष प्रमेश प्रधानले जानकारी दिनुभयो ।
विद्यालयको ५० औं (स्वर्ण) जयन्तीको अवसरमा भुटनदेवि अल्मुनाई एसोसिएसन र वर्ष ३७ का पूर्व विद्यार्थीहरुको समुहले संयुक्त रुपमा गरेको शिविरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको दाँत परीक्षण, आवश्यक परामर्श तथा सामान्य उपचार सेवा प्रदान गरिएको थियो । दन्त चिकित्सकहरूले दाँत सफा राख्ने तरिका, बिहान–साँझ नियमित ब्रस गर्ने बानी, सही खानपान तथा समय–समयमा दन्त परीक्षण गराउनु पर्ने विषयमा जानकारी गराएको थियो ।
शिविरमा ४३६ जना विद्यार्थीहरूको दन्त परीक्षण गरिएको क्लबका अध्यक्ष प्रधानले बताउनु भयो । बाल्यकालमै दन्त स्वास्थ्यप्रति सचेतना बढाउन यस्ता कार्यक्रम अत्यन्त उपयोगी हुने उहाँको भनाइ छ । डा. मनोज उपाध्यायसहितको प्राविधिक टोलीले शिविरमा दन्त परिक्षण गर्नुभएको थियो ।