हेटौँडा : तेस्रो राष्ट्रिय पर्याकविता प्रतियोगितामा मकवानपुरका किशन पौडेलको ‘दोहन’ शीर्षकको कविता प्रथम हुनुभएको छ । प्रतियोगिताअन्तर्गत शनिबार हेटौँडामा सम्पन्न कविता प्रस्तुतीपछि निर्णायकले पौडेलको कवितालाई प्रथम घोषणा गरेको हो । प्रथम स्थान हासिल गर्नुहुँदै पौडेलले नगद ३० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
साहित्य संगम मकवानपुरको ३९ औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा कैलालीका मोहित जोशीको कविता ‘समयको अन्त्यको किनारमा उभिएर’ द्वितीय घोषित हुँदै नगद २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै सुनसरीका किरण सिवाको कविता ‘मौन प्रकृति’ तृतीय हुँदा तनहुँका नरोत्तम श्रेष्ठको कविता ‘बीउको रक्तिम घोषणापत्र’ र काठमाडौंकी यशोदा अधिकारीको कविता ‘धर्तीको बिघटन’ सान्त्वना घोषित भए । तृतीय हुनेले १० हजार नगद प्राप्त गर्दा सान्त्वना हुनेले जनही ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । कार्यक्रममा उत्कृष्ट हुन सफल १० वटा कविताहरु वाचन गरिएको थियो । प्रतियोगितामा सहभागिताका लागि १६४ कविता प्राप्त भएको साहित्य संगम मकवानपुरले जनाएको छ । प्रतियोगितामा साहित्यकार निमेष निखिल र विजय हितान निर्णायक रहनुभएको थियो ।

यसैगरी ‘नेपाली साहित्यमा पर्याचेतना’ विषयक बहस आयोजना गरिएको थियो । बहसमा साहित्यकारहरु चितवनका इश्वर कँडेल, रुपन्देहीका विजय हितान र मकवानपुरका घनश्याम घिमिरे बहसकर्ताको रुपमा सहभागी हुनुहुन्थ्यो भने बहसको सहजीकरण साहित्यकार सुवास खनालले गर्नुभएको थियो । बहसमा सहभागीहरुले प्रकृतिले नै मानवलाई नियन्त्रणमा राख्ने भएकोले प्रकृति मानव जीवनको अभिन्न हिस्सा भएको बताएका थिए । साहित्यमा प्रकृति अर्थात पर्यालाई प्राथमिकतामा राखिनुपर्ने पनि उनीहरुको भनाइ थियो । यस्तै प्रकृति नै संसारको अन्तिम सुन्दरता र सत्य भएको जीकिर गरिएको छ । साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको थियो ।