Home मुख्य समाचार अमर माविमा खाना महोत्सव

अमर माविमा खाना महोत्सव

हेटौँडा : हेटौँडा–१, चाइना क्वाटरस्थित अमर माध्यमिक विद्यालयमा आयोजना गरिएको खाना महोत्सव तथा विविध प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम विद्यालयकी प्रधानाध्यापक मालती उप्रेतीको सभाध्यक्षता तथा वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यमा भएको थियो ।

खाना महोत्सवसँगै १८ गते सम्पन्न भएको अमर सिंगिङ स्टार पहिलो चरणबाट छनोट भई फाइनल चरणमा प्रवेश गरेका ५ जना विद्यार्थीबीच भएको गायन प्रतियोगितामा कक्षा ८ का जोन दोङले उपाधि जित्न सफल भएका छन् । प्रतियोगितामा कक्षा ८ कै ईश्वर रसाइली दोस्रो भएका छन् । सैगरी बुधबार र बिहीबार भएको खेलकुद प्रतियोगिताअन्तर्गत नर्सरी तथा केजी तहमा आयोजित बोतलमा पानी भर्ने खेलमा अंकित राना (केजी) प्रथम, सुशील गिरी (केजी) द्वितीय र सोनम कुमारी (नर्सरी) तृतीय भए । कक्षा १ देखि ३ सम्मका विद्यार्थीका लागि आयोजित विस्कुट खोजेर खाने खेलमा सूर्यबहादुर लो (कक्षा २) प्रथम, मन्सिका कुमारी (कक्षा ३) द्वितीय र युविन घलान (कक्षा ३) तृतीय भएका छन् ।

त्यसैगरी कक्षा ३ देखि ५ सम्मका विद्यार्थीका लागि आयोजित बेलुन ब्यालेन्सिङ रेसमा कक्षा ४ की रूथ परियार र पवित्रा मल्लको जोडी प्रथम, कक्षा ३ र ४ का सोहन यादव र सम्राट घलानको जोडी द्वितीय तथा कक्षा ४ कै अनन महर्जन र अर्विन आले मगरको जोडी तृतीय भएका छन् । कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरूका लागि फुटबल, कबड्डी, रिलेरेस र सर्टपुट सञ्चालन गरिएको थियो । फुटबलमा छात्रातर्फ कक्षा ८ र छात्रतर्फ कक्षा ९ का विद्यार्थीहरू प्रथम भएका छन् । यस्तै कबड्डीमा कक्षा १० का छात्रा र छात्र दुवै प्रथम भएका छन् । यस्तै सर्टपुटमा रोशन सुनार प्रथम भएका छन् भने रिलेशमा कक्षा ९ का छात्र र कक्षा ८ का छात्रा प्रथम भएका थिए । प्रतियोगितामा उत्कृष्ट सबैलाई मेडल प्रदान गरिएको छ ।

कार्यक्रम विद्यार्थीहरूमा रहेको अन्तर्निहित प्रतिभालाई उजागर गर्दै सानै उमेरदेखि लैङ्गिक विभेदरहित समान अवसर र सहभागिताको सन्देश दिनु रहेको विद्यालयले जनाएको छ। साथै विद्यार्थीहरूको आत्मविश्वास, हौसला र मनोबल अभिवृद्धि गर्ने लक्ष्यसहित आयोजना गरिएको प्रअ उप्रेतीले बताउनुभयो । खाना महोत्सवमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरूको सहभागितामा ७ वटा खाना स्टल राखिएको थियो । विद्यार्थीहरूले आफ्नै लगानीमा सेलपुरी, तरकारी, यमोरी, आलुचप, पकौडा लगायत विभिन्न परिकारका खानाहरू बनाएर बिक्री गरेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष जानकी गिरी, सदस्य शर्मिला अधिकारी, पूर्वशिक्षक, पूर्वविद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । विद्यालयमा हाल ५४८ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

Exit mobile version