हेटौँडा : नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आयोजनामा सञ्चालित ‘गरिब घरपरिवार व्यवस्थापन प्रणाली’ सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । हेटौँडा–२ स्थित जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा सोमबारदेखि सुरु भएको तालिम मंगलबार सम्पन्न भएको हो ।
तालिममा मकवानपुर जिल्लाका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा भूमि व्यवस्थापन शाखामा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो । सहभागीहरूलाई मन्त्रालयका शाखा अधिकृत नरबहादुर बुढा र सूचना प्रविधि अधिकृत रसिल श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।
‘गरिब घरपरिवार व्यवस्थापन प्रणाली’ एउटा आधुनिक सफ्टवेयर प्रणाली हो । विगतमा कागजी रूपमा तथ्याङ्क सङ्कलन गर्दा त्रुटी सच्याउन नमिल्ने र काम निकै झन्झटिलो हुने गरेकोमा अब डिजिटल प्रणालीले ती समस्याहरू हल गर्ने सूचना प्रविधि अधिकृत श्रेष्ठले बताउनुभयो । यो सफ्टवेयर प्रणाली सस्तो र प्रभावकारी हुनुको साथै यसबाट संकलित तथ्याङ्कको आधारमा परिचयपत्रसमेत सजिलै छाप्न सकिने उहाँले बताउनुभयो ।
दुई दिनसम्म चलेको उक्त तालिममा सहभागीहरूलाई वास्तविक गरिब घरपरिवारको तथ्याङ्क सङ्कलन गर्ने, त्यसलाई सफ्टवेयरमा प्रविष्टि (इन्ट्री), विश्लेषण र आवश्यक परेको खण्डमा सम्पादन गर्ने प्राविधिक विधिबारे सिकाइएको हो ।
मन्त्रालयले देशभरका सबै स्थानीय तहका लागि चरणबद्धरुपमा तालिम सञ्चालन गर्दैछ । यो प्रणाली कार्यान्वयनमा आएसँगै वास्तविक गरिब परिवारको पहिचान गर्न र राज्यले उपलब्ध गराउने सेवा सुविधा लक्षित वर्गसम्म पु¥याउन थप सहज हुने अपेक्षा गरिएको छ ।
