हेटौँडा : आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट चुनाव लड्न नेकपा एमालेले २ जनाको नाम सिफारिस गरेको छ । एमाले मकवानपुर क्षेत्र नम्बर–२ को क्षेत्रीय समितिको बैठकले संविधानसभा सदस्य सुवासचन्द्र ठकुरी र निवर्तमान सांसद महेश कुमार बर्तौलाको नाम सिफारिस गरेको हो ।
बैठकले सो क्षेत्रबाट प्रत्यक्षमा चुनाव लड्न एमाले प्रमुख सचेतकको जिम्मेवारी पाइसकेका एवम् निवर्तमान सांसद महेश बर्तौला र संविधान सभा सदस्य सुवासचन्द्र ठकुरीको नाम सिफारिस गरेको हो । बर्तौला यसअघि सोही क्षेत्रबाट निर्वाचन जितेका थिए । पहिलो पटक चुनाव लडेका बर्तौलाले तत्कालिन गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई पराजित गरेका थिए । आगामी निर्वाचनमा पनि नेकपाको तर्फबाट खतिवडा नै से क्षेत्रमा चुनाव लड्ने चर्चा रहेको छ ।
यता संविधान सभा सदस्य ठकुरी पुनः उम्मेदवार बन्न सोही क्षेत्रबाट उम्मेदवार सिफारिस भएका छन् । ठकुरी २०७० मा सोही क्षेत्रबाट निर्वाचन जितेका थिए । सो पश्चात ठकुरीलाई पाखा लगाउँदै विरोध खतिवडाले एमालेबाट टिकट लिएर चुनाव जितेका थिए । एमाले विभाजनपछि सो क्षेत्रमा एमालेले खतिवडा विरुद्धमा बर्तौलालाई उठाएको थियो । मकवानपुर–२ कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको पनि निर्वाचन क्षेत्र हो । २०७४ को निर्वाचन र सो अघिका अधिकांश चुनाव सोही मकवानपुर–४ (हाल २) क्षेत्रबाट लडेकी उनले २०७९ मा मकवानपुर–१ बाट चुनाव लडेकी थिइन् । आगामी निर्वाचनका लागि पनि डिना मकवानपुर–१ बाट उम्मेदार सिफारिसमा परेकी छिन् ।
