हेटौँडा : कमाने क्रिकेट क्लबको आयोजनामा हुने कमाने प्रिमियर लिग (केपीएल) को चौथो संस्करणमा शुभ कंसाकार खेल्ने भएका छन् । चौथो संस्करणका लागि कंशाकार कमाने लायन्स टिममा आवद्ध भएको क्लबका अध्यक्ष किशोर खत्रीले जानकारी दिनुभयो ।
प्रतियोगिताको खेलाडी अक्सन शनिबार सम्पन्न भएको छ । प्रतियोगिताको तयारीस्वरूप हेटौँडा–८ स्थित शुभम् पार्टी प्यालेसमा भएको अक्सनबाट कंसाकारलाई कमाने लायन्सले टोलीमा अनुबन्ध गरेको हो । यसअघि नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सबाट खेलेका कंसाकारसँग अन्य विभिन्न घरेलु प्रतियोगिता खेलेको अनुभव छ ।
अक्सनमा कमाने लायन्स, कमाने थर्डआई, कमाने एक्सपोर्टस् भिजन–११, कमाने इप्लानेट, कमाने राइडर्स र साविक उपविजेता कमाने रोयल्स गरी ६ वटा टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताका लागि सूचीकृत १ सय ३१ जना खेलाडीमध्ये प्रत्येक टिमले २ जना मार्की खेलाडीसहित अक्सनमार्फत खेलाडी छनोट गरेका छन् । अक्सनअघि नै प्रत्येक टिमले आफ्नो कप्तान तय गरिसकेको आयोजकले जनाएको छ ।
अक्सन प्रक्रियामार्फत ५२ जना स्थानीय खेलाडी छनोट भएका छन् भने बाँकी खेलाडीहरू ट्यालेन्ट हन्ट तथा अन्य प्रक्रियामार्फत ६ वटै टिमले आवश्यकताअनुसार अनुबन्ध गर्न पाउनेछन् । यसअघि ८ वटा टिम सहभागी भएको प्रतियोगिताको चौथो संस्करणमा ६ वटा टिमले मात्रै सहभागिता जनाएका छन् । तेस्रो संस्करणको उपाधि विजेता टोली कमाने टाइगर्सले यस वर्ष सहभागिता जनाएको छैन ।
प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा हेटौँडा स्कूल अफ म्यानेजमेन्ट रहेको छ । प्रतियोगिता आगामी माघ १० गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उपाधि विजेता टोलीले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ पनि जनही ५/५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
स्थानीय क्रिकेट प्रतिभालाई प्रोत्साहन गर्दै प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने लक्ष्यका साथ प्रतियोगिताको आयोजना गरिएको आयोजकको भनाइ छ । खेल संयोजक एवम् क्लबका सचिव बिष्णु दहालको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ८ का वडा अध्यक्ष रामकृष्ण थापा, विशिष्ट अतिथि वडा सदस्य गोरथनाथ राय, अतिथिहरु बागमती क्रिकेट संघका उपाध्यक्ष प्रेम केसी र क्रिकेटका राष्ट्रिय अम्पायर विनोद बानियाँको उपस्थिति रहेको थियो ।
