हेटौँडा : हेटौँडा–१७ गौरिगाउँस्थित एक पोल्ट्री फर्ममा आगलागी भएको छ । शुक्रबार दिउँसो २ बजेर ४५ मिनेटको समयमा हेटौँडा–८ कमाने बस्ने ४१ वर्षीय राजु अधिकारीले सञ्चालन गरेको पशुपति पोल्ट्री फर्ममा चल्ला ब्रुडिङ गर्ने क्रममा प्रयोग गरिएको ग्यास बुडरको तापक्रम अत्यधिक बढ्न गई भुईँमा ओछ्याइएको भुसमा आगो सल्किएर आगलागी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
आगलागी हुँदा सोही खोरमा ३ दिनका १६ हजार १८२ वटा चल्ला रहेका थिए । खोरमा रहेका मध्ये ९ सय वटा चल्ला जिउँदै उद्धार गरिएको छ भने बाँकी १५ हजार १८२ वटा चल्ला जलेको छ । आगलागीबाट २२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीय तथा प्रहरीको सहयोगमा आगो दिउँसो ४ बजेर ३० मिनेटको समयमा पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट मानविय तथा अन्य भौतिक संरचनामा भने क्षति नभएको जनाइएको छ ।
