Home मुख्य समाचार राष्ट्रिय जनसंख्या नीतिअनुसार बजेट बनाउनुपर्छ : स्वास्थ्यमन्त्री थापा

राष्ट्रिय जनसंख्या नीतिअनुसार बजेट बनाउनुपर्छ : स्वास्थ्यमन्त्री थापा

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै स्वास्थ्यमन्त्री किरण थापा ।

हेटौँडा : अबको बजेट बनाउँदा राष्ट्रिय जनसंख्या नीति २०८२ अनुसार बनाउनुपर्ने बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले बताउनुभएको छ । सोमबार हेटौँडामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी राष्ट्रिय जनसंख्या नीति २०८२ सार्वजनिकीकरण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले अब निर्माण हुने योजना तथा बजेट कार्यक्रमहरु सोही नीति बमोजिम निर्माण गरिने बताउनुभयो ।

मन्त्री थापाले हाल नेपालमा बसाइँसराइको क्रम निकै बढेकाले यसले पार्ने दूरगामी प्रभावबारे यस नीतिले सबै तहका सरकारहरुलाई योजना तथा कार्यक्रम निर्माण गर्दा ध्यानाकृष्ट गर्ने बताउनुभयो । यसअघि सन्तुलित विकास नहुँदा कतै धेरै विकास हुने र कतै विकास निर्माण शून्य हुने गर्दा मानिसहरु विकास नभएको स्थानबाट विकास र अवसर बढी भएको स्थानमा बसाइँसराइ गर्ने क्रम बढेको उहाँको भनाइ छ । उहाँले यस नीतिले सबैलाई सन्तुुलित बनाउन मद्दत पु¥याउने अपेक्षा व्यक्त गर्नुभयो ।

अहिलेको अवस्थामा स्वास्थ्य, शिक्षा, रोजगार र भौतिक पूर्वाधारहरुलाई प्राथमिकताको आधारमा लैजानुपर्ने उहाँको भनाइ थियो । अबको समयमा सबै स्थानमा सन्तुलित बजेट विनियोजन गरी कार्यक्रम बाँडिदा युवाहरुलाई रोजगारको स्थिति सिर्जना गर्न सकिने र यस नीतिले तीनै तहका सरकारको लागि छाता नीतिको काम गर्ने उहाँको भनाइ छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले तीनै तहका सरकारले युवा जनशक्तिहरुलाई विदेश पलायन हुनबाट रोक्नका लागि विशेष कार्यक्रमहरु ल्याउनुपर्ने सुझाव दिनुभयो । उहाँले यस्ता नीतिहरुले सरकारलाई एउटै दिशामा रहेर काम गर्नसमेत प्रेरित गर्ने बताउनुभयो ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले जनसंख्या बढाउन उपमहानगरपालिकाले प्रोत्साहन कार्यक्रमसमेत ल्याइएको बताउँदै युवावस्था सुरु पनि नभई विदेश जाने लहर बढिरहेको र वडा कार्यालयहरुमा विदेशका लागि सम्पत्ति तथा आर्थिक प्रोफाइलमा सिफारिस दिने काम सबैभन्दा धेरै भएको बताउनुभयो । अब यसलाई रोक्न युवाहरुको रोजाइको कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

Exit mobile version