हेटौँडा : नगरस्तरीय नृत्य प्रतियोगितामा हेटौँडा–३ स्थित सनसाइन इङ्लिस बोर्डिङ स्कूल प्रथम भएको हो । शुक्रबार हेटौँडा–१९, बस्तीपुरस्थित निर्मल माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा प्रतियोगिता भएको विद्यालयका शिक्षिक पुण्यशिला श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा आयोजक निर्मल माध्यमिक विद्यालय द्वितीय र हेटौँडा–५ स्थित ज्ञानदीप शिक्षा (जीएस) निकेतन माध्यमिक विद्यालय तृतीय भएको हो । प्रथम, द्वितीय र तृतीय विद्यालयले क्रमशः १५ हजार, १० हजार र ६ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । चौथो स्थान हासिल गरेको हेटौँडा–८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयले सान्त्वनास्वरुप नगद ४ हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा सहभागी अन्य विद्यालयलहरुले समान २÷२ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा हेटौँडा उपमहानगरपालिकाभित्रका निजी र सामुदायिक गरी १३ वटा विद्यालयको सहभागिता रहेको शिक्षिक श्रेष्ठले बताउनु भयो ।
यसैगरी, विद्यालयले स्वर्ण महोत्सव अन्तर्गत आयोजना गरेको पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा हेटौँडा उपमहानगरपालिका र आयोजक निर्मल माध्यमिक विद्यालय भिड्ने पक्का भएको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा हेटौँडा उपमहानगरपालिकाले कैलाश गाउँपालिकालाई २५–१९, २५–१३ र २५–१९ ले पराजित गरेको हो ।
दोस्रो सेमिफाइनलमा आयोजक निर्मल माविले मनहरी गाउँपालिकालाई २५–१८, २५–२०, २१–२५ र २५–१७ ले पराजित गरेको थियो । प्रतियोगिताको फाइनल खेल आज शनिबार हुँदैछ । प्रतियोगितामा प्रथम हुने टोलीले ७५ हजार, द्वितीय हुनेले ५० हजार र तृतीय हुने टोलीले सान्त्वना पुरस्कार १५ हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पुरस्कार पाउनेछ ।
विद्यालयले स्वर्ण महोत्सव (५० औँ वार्षिक उत्सव)को अवसरमा मंगलबारदेखि शनिबारसम्म विविध प्रतियोगिता र सांस्कृतिक कार्यक्रमहरु आयोजना गरेको छ ।
