Home खेलकुद हाजिरीजवाफमा तुल्सी मेहर प्रथम

हाजिरीजवाफमा तुल्सी मेहर प्रथम

रक्तदान गर्दै रक्तदाताहरु ।

हेटौँडा : नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा हेटौँडा–१० स्थित तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालय प्रथम भएको हो । हेटौँडा–१९, बस्तिपुरस्थित निर्मल माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा बिहीबार भएको प्रतियोगितामा हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालय दोस्रो, हेटौँडा–३ स्थित सनसाईन इंग्लिस बोर्डिङ् स्कूल तेस्रो र हेटौँडा–१९, ज्यामिरेस्थित अरनिको आधारभूत विद्यालय चौथो भएको छ ।

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र चौथो हुने विद्यालयहरुले क्रमशः १५ हजार, १० हजार, ६ हजार र ४ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । यसैगरी प्रतियोगितामा सहभागी अन्य विद्यालयहरुले सन्त्वना स्वरुप समान २/२ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा हेटौँडा उपमहानगरपालिका भित्रका निजी र सामुदायिक गरी १० विद्यालयको सहभागिता थियो । बालचन्द्र लामिछानेको संयोजकत्वमा भएको प्रतियोगितामा कक्षा १ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुको सहभागिता थियो ।

बिहीरबार नै विद्यालयको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको विद्यालयका प्रधानाध्यापक प्रबोध बिडारीले जानकारी दिनुभयो । विद्यालयका शिक्षक, कर्मचारी र स्थानीयले पनि रक्तदान गरेका थिए ।

यसैगरी विद्यालयले बिहीबार बृहत स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा हेटौँडा अस्पतालका डा. प्रशान्त बिडारीको नेतृत्वमा १२ जना डाक्टरहरुले सेवा दिएका थिए । शिविरमा आँखा, नाक, कान, छाला, हाडजोर्नी लगायत सेवा प्रदान गरिएको थियो । विद्यालयले मंगलबारदेखि शनिबारसम्म विविध कार्यक्रम आयोजना गरी ५०औँ वार्षिकोत्सव (स्वर्ण महोत्सव) मनाउँदैछ ।

Exit mobile version