Home मुख्य समाचार सडक खाना महोत्सव आइतबारदेखि

सडक खाना महोत्सव आइतबारदेखि

हेटौँडाः १२ औँ सडक खाना महोत्सव आइतबारदेखि हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गरी मकवानपुर होटल यसोसिएसनले आइतबारदेखि सडक खाना महोत्सव हुने जानकारी दिएको हो ।
‘सडकमै जाऊँ, सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने नाराका साथ होटल यसोसिएसन मकवानपुरले विगत ११ वर्षदेखि निरन्तर सडक खाना महोत्सव आयोजना गर्दै आएको छ । सडक खाना महोत्सव पुस १६ गतेसम्म दिउँसो ४ बजेदेखि राति ९ बजेसम्म हुने आयोजकले जनाएको छ ।

महोत्सवमा सांस्कृतिकदेखि आधुनिक किसिमका विभिन्न खानाका परिकारहरु बिक्री गरिने बताइएको छ । मनोरञ्जनका लागि स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका कलाकारहरुले प्रस्तुति दिनेछन् । यसले गर्दा स्थानीय कलाकारहरुको प्रचारप्रसार हुने र कला क्षेत्रको बजारीकरणमा सहयोग पुग्ने आयोजकले विश्वास व्यक्त गरेको छ ।

महोत्सवमा करिब ६० वटा स्टलहरु रहनेछन् । एउटा स्टल राख्न ४ दिनको १० हजार रुपैयाँ शुल्क लाग्नेछ । खाद्य सामग्रीको शुद्धतामा विशेष ध्यान दिने र व्यवसायीहरुलाई दैनिक फोहोर व्यवस्थापन गर्न लगाइने आयोजकको भनाइ छ । खानाको मेनु प्रत्येक स्टलमा अनिवार्य राख्नु पर्नेछ ।

महोत्सवमा १५ लाख ७२ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । भने स्टलबाट ७० देखि ८० लाखसम्म व्यापार हुने अनुमान गरिएको छ । महोत्सवमा ३० देखि ४० हजार अवलोकनकर्ता आउने आयोजकले जनाएको छ । महोत्सव अवधिभर आपतकालीन अवस्थाका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरद्वारा एम्बुलेन्स र हेटौँडा उपमहानगरपालिकाद्वारा दमकलको व्यवस्था गरिएको छ । यसैगरी, मकवानपुर सहकारी अस्पतालका टोलीले आकस्मिक उपचार सेवा प्रदान गर्नेछ ।

Exit mobile version