हेटौँडा : बागमती प्रदेशको चितवन जिल्लामा छुट्टाछुट्टै घटनामा बिहीबार २ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । चितवनको भरतपुर महानगरपालिका–११ कुमारीचोकमा एक युवक मृत फेला परेका छन् । मृत फेला पर्नेमा माडी नगरपालिका–८ स्थायी घर भई हाल कुमारीचोकमा बस्ने २० वर्षीय इश्चर सार्की रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार बिहानको ८ बजेर ४५ मिनेटको समयमा माडी नगरपालिका–९ निवासी निर्मल पहारीको निर्माणाधीन तीनतले घरमा रङ लगाउने काम गर्दै आएका सार्की सोही घरको तेस्रो तलाबाट खसेको अवस्थामा मृत फेला परेका थिए । घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, चितवनको रत्ननगर नगरपालिका–१ बकुलहर चोकमा ईभी भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बुधबार बिहान ८ बजेको समयमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत वीरगञ्जबाट भरतपुरतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ५२२ नम्बरको ईभी भ्यानले कृष्णमन्दिरबाट टाँडीतर्फ आउँदै गरेको बा.प्र.०६–००२ प ३८१६ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा स्कुटर चालक चितवन रत्ननगर नगरपालिका–११ बस्ने ३० वर्षीया रोशनी तामाङ गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियो । उपचारको क्रममा तामाङको बिहीबार राती मृत्यु भएको प्रहरीले जनाएको छ । ईभी भ्यान चालक पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–३ पसौनी बस्ने २८ वर्षीय सुनिल साहलाई इलाका प्रहरी कार्यालय टाँडीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ ।
