हेटौँडा : हेटौँडा–८, कमानेस्थित कमाने एकेडेमीले सामाजिक विषयको प्रदर्शनी आयोजना गरेको छ । कक्षा–३ देखि कक्षा–१० सम्मका विद्यार्थीको सहभागितामा विद्यालय परिसरमै पहिलो पटक सोमबार सामाजिक विषयको प्रदर्शनी गरिएको हो ।
‘हाम्रो नेपाल, हाम्रो गौरव’ भन्ने मूल आशयसहित आयोजना गरिएको सामाजिक प्रदर्शनीमा कक्षागत विशिष्ट आशय तय गरिएको थियो । विद्यार्थीले तयार पारेर प्रस्तुत गरेको सामाजिक प्रदर्शनीको अभिभावक, विद्यार्थी र सरोकारवालाले अवालेकन गरेका थिए । नेपालको भुगोल, राजनीतिक संरचना, संस्कृति, राष्ट्रिय व्यक्तित्व, रहनसहन, पर्व–जात्रा लगायतका विषयमा विद्यार्थीले प्रस्तुती गरेका थिए । विद्यार्थीले पाठ्यक्रममै अध्ययन गरेका सामाजिक विषयको प्रदर्शनीका लागि २ दिनको तयारी गरिएको विद्यालयकी सहायक प्रिन्सीपल लक्ष्मी बस्नेतले जानकारी दिनुभयो । मुलुकलाई नै चिन्न र चिनाउन सक्ने गरी सामाजिक प्रदर्शनीको आयोजना गरिएको सहायक प्रिन्सीपल बस्नेतको भनाइ छ । यस किसिमको प्रदर्शनीले विद्यार्थी र उनीहरुका अभिभावकमा समेत नेपालको सामाजिक चेतना अभिवृद्धिमा सहयोग पुग्ने दावी गरिएको छ ।
एउटा समूहमा ५ देखि ६ जना विद्यार्थीको सहभागितामा सामाजिक प्रदर्शनीको परियोजना तयारी गरेका हुन् । विद्यार्थीले पृथ्वीनारायण शाह, योगमाया, महावीर पुन, पारिजातको व्यक्तित्वबारे जानकारी गराउने गरी उनीहरुकै आउभाउ र भेषभुषामा सजिएर बसेका थिए । नेपालको जीवित देवीको रुपमा कुमारी जात्रा समेत प्रस्तुत गरिएको थियो । कक्षा ३ का विद्यार्थीले हेटौँडा सहर, कक्षा ४ का विद्यार्थीले ८ नम्बर वडा, कक्षा ५ का विद्यार्थीले मकवानपुर जिल्ला, कक्षा–६ का विद्यार्थीले बागमती प्रदेशको भुगोल, भेषभुषा र संस्कृतिका विषयमा प्रस्तुती गरेका थिए । यस्तै कक्षा–७ का विद्यार्थीले प्रादेशिक संरचना, कक्षा–८ का विद्यार्थीले नेपालको इतिहास, कक्षा–९ का विद्यार्थीले नेपाल र सार्क, नेपाल र संयुक्त राष्ट्रसंघ, राष्ट्रिय व्यक्तित्वहरु र कक्षा–१० का विद्यार्थीले नेपालको भुगोलका बारेमा प्रस्तुती राखेका थिए ।
