हेटौंडा : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को हेटौंडामा आयोजना गर्ने भनिएको प्रदेशस्तरीय सभा काठमाडौंमा हुने भएको छ । नेकपाले गत मंसिर २३ गते हेटौंडा–४ स्थित हुप्रचौरमा प्रादेशिक सभा गर्ने योजना बनाएको थियो ।
हेटौंडा बजार क्षेत्रको सडक विस्तारको कार्य भइरहेकाले पार्टीले प्रदेशको राजधानी बाहिर सभा गर्ने निर्णय गरेको साविक नेकपा माओवादी केन्द्रका मकवानपुर इन्चार्ज विजय गौतमले जानकारी दिनुभयो । प्रदेशस्तरीय सभा अगामी पुस ५ गते हुनेछ ।
यसैबीच, बिहीबार नेकपाको मकवानपुर जिल्ला समितिको विस्तारित एकता बैठक सम्पन्न भएको छ । हेटौंडा–४ स्थित जिल्ला पार्टी कार्यालयमा एकीकृत भएका दलका नेता, कार्यकर्ताहरुको उपस्थितिमा बैठक बसेको थियो । नेता गौतमका अनुसार बैठकले जिल्ला एकता घोषणा गर्नुका साथै मंसिर २९ गते १० वटै पालिकामा स्थानीय तहस्तरीय एकता बैठक गर्ने निर्णय गरेको छ । त्यसपछि सबै स्थानीय तहले वडास्तरीय एकता बैठक गर्नेछ ।
बैठकले पुस मसान्तसम्ममा ‘जबस मोर्चा’ जिल्ला एकता प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । बैठकमा पार्टीका केन्द्रीय नेता गंगालाल तुलाधारको प्रमुख आतिथ्य र सूर्य सुवेदी पथिकको विशेष आतिथ्य रहेको थियो । बिहीबार नै बकैया–४ निवासी गोपाल भट्टराईले नेकपा एमाले परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभयो ।
