हेटौंडाः हेटौंडा–११ मा जारी सहिद स्मारक प्रिमियर लिग क्रिकेट प्रतियोगितामा गोल्फिनटार किङ्सले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । बुधबार सम्पन्न खेलमा थानाभर्याङ म्याव्रिक्सलाई ५ रनले हराउँदै गोल्फिनटारले लगातार चौथो जित हात पारेको हो ।
बुधबार बिहान भएको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको गोल्फिनटारले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०४ रनको योगफल तयार पारेको थियो । गोल्फिनटारको जितमा अलराउण्ड प्रदर्शन गरेका रमेश लुइटेल प्लेयर अफ द म्याच बने । उनले ब्याटिङतर्फ सर्वाधिक ५५ बलमा ६ चौका र ५ छक्काको मद्दतले ७१ रन बनाए । बलिङतर्फ थानाभर्याङका अहम्मद राजाले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा ७ रनमात्र खर्चेर ४ विकेट लिए । यस्तै, विशेषविक्रम थापा र अनुज कार्कीले समान २–२ विकेट तथा शरदराज पाण्डेले १ विकेट लिए ।
१०५ रनको विजय लक्ष्य पछ्याएको थानाभर्याङ म्याव्रिक्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रनमात्र बनाउन सक्यो । उसका लागि सुजित खनालले सर्वाधिक २७ रन (३४ बल) बनाए । थानाभर्याङलाई रोक्न गोल्फिनटारका रमेश लुइटेलले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । सरोज यादव र राहुल केसरीले २–२ तथा नवीन शर्माले १ विकेट हात पारे ।
बुधबार नै सम्पन्न दोस्रो खेलमा नवलपुर टाइटन्सले बागथली वारियर्सलाई ७ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको बागथली वारियर्स १९.५ ओभरमा १०६ रनमा अलआउट भयो । बागथलीका निरञ्जन खनालले सर्वाधिक २८ रन बनाए । नवलपुरका समिर थापाले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको नवलपुरले १ ओभर अगावैै ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । नवलपुरका लागि अशिम श्रेष्ठले अविजीत ३७ रन बनाए । बागथलीका समिर चौलागाई र मन्दिप श्रेष्ठले १–१ विकेट लिए ।
लिग चरणका ४ खेलमा जित निकाल्दै गोल्फिनटार किङ्स ८ अङ्कका साथ शीर्ष स्थानमा छ । ४ खेलमा ३ जित र १ हारसहित ६ अङ्क जोडेको नवलपुर टाइटन्स दोस्रो स्थानमा उक्लिएको छ । यसैगरी, बागथली वारियर्सले ४ खेलमा २ अङ्क जोडेको र थानाभर्याङ म्याव्रिक्सले ३ खेलमा २ अङ्क जोडेका छन् । ३ खेल खेलेको हेटौंडा एकेडेमीले भने हालसम्म अङ्क जोड्न सकेको छैन ।
वागेश्वरी टोल विकास संस्थाको आयोजनामा हेटौंडा–११ स्थित हेटौंडा एकेडेमीको खेल मैदानमा मंसिर २० गतेदेखि सुरु भएको प्रतियोगिता आगामी मंसिर २७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
