Home मुख्य समाचार दुई दिने खाद्यान्न प्रदर्शनी मेला हुने

दुई दिने खाद्यान्न प्रदर्शनी मेला हुने

हेटौँडाः हेटौँडा–८, राजपानीस्थित सर्वोत्तम सञ्चिती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा दुई दिने वृहत् खाद्यान्न सामग्री प्रदर्शनी मेला हुने भएको छ । संस्थाले मंगलबार पत्रकार सम्मेलन गरेर मंसिर २६ र २७ गते प्रदर्शनी सञ्चालन गर्ने जानकारी दिएको हो ।

हेटौँडा–८ स्थित शुभम् पार्टी प्यालेसमा आयोजना हुने प्रदर्शनीको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । प्रदर्शनीमा विभिन्न ५० वटा स्टलहरू रहनेछन् । ती स्टलहरूमा सहकारीले आफ्नै लगानी तथा सदस्यमार्फत् उत्पादन गरेका विभिन्न खाद्यान्न सामग्रीहरू प्रदर्शनी तथा बिक्री वितरणका लागि राखिनेछ ।

पत्रकार सम्मेलनमा बोल्दै सहकारीका अध्यक्ष रामबहादुर बस्नेतले प्रदर्शनीको मुख्य उद्देश्य उपभोक्तालाई स्वस्थकर खानेकुरा उपलब्ध गराउनु रहेको बताउनुभयो । यसबाट उपभोक्ताले सस्तो र विषादीमुक्त गुणस्तरीय सामग्री प्राप्त गर्ने उहाँको भनाइ छ । प्रदर्शनीको उद्घाटन सत्रमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्य रहने आयोजकले जनाएकोे छ । दुई दिनसम्म चल्ने उक्त प्रदर्शनीमा २० हजार अवलोकनकर्ताहरू आउने आयोजकको अनुमान छ ।

वि.सं. २०६५ सालमा स्थापना भएको सहकारी संस्थामा ३ हजार १ सय जना सदस्यहरु आवद्ध छन् । संस्थाले अहिलेसम्म २४ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ । संस्थाले ५० प्रकारका दैनिक उपभोग्य वस्तु उत्पादन गर्नुका साथै गाई, भैंसी, बाख्रा र बंगुरका दाना पनि उत्पादन गर्दछ । सदस्यको खेर गएको श्रम र समयको सदुपयोग गर्ने र मिसावटयुक्त, वेमौसमी उपभोग्य वस्तु तथा हानिकारक विषादीयुक्त खाद्य पदार्थप्रति सचेतना कार्यक्रम सञ्चालन गरी स्वास्थ्य सुधार गर्नु यस संस्थाको मुख्य उद्देश्य रहेको छ ।

हेटौँडा–८ मा मुख्य कार्यालय रहेको संस्थाले हेटौँडा–४, पारिजातपथस्थित काका भतिज मार्केटबाट पनि सेवा दिँदै आएको छ । मिसावटरहीत उत्पादनको उपभोग गराई निरोगी समाजको निर्माण गर्ने संस्थाको लक्ष्य रहेको छ ।

Exit mobile version