हेटौंडा बजार क्षेत्रको सडक विस्तारका लागि सडक सीमाभित्रको घरटहरा हटाउन दिइएको समयसीमा आज शुक्रबार सकिँदैछ । गत मंसिर ५ गते डिभिजन सडक कार्यालय हेटौंडाले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको हेटौंडा बजार क्षेत्रको सडकको दायाँ–बायाँ २५ गजभित्र परेका अस्थायी, स्थायी संरचना १५ दिनभित्र हटाउन सूचित गरेको थियो । सूचना प्रकाशनसँगै डिभिजन सडक कार्यालयले सरोकारवाला सरकारी निकायसँग समन्वय र सहकार्यलाई तिब्र बनायो । विगतमा बारम्बार सूचना जारी गर्ने गरिएको भए पनि सडक सीमाभित्रका संरचना हटाउन सकिएको थिएन । घरधनीले संरचना हटाउन चासो नदिने ठहर गर्दै डिभिजन सडक कार्यालयले तोकिएको समयसीमा समाप्त भएपछि आफैँ घरटहरा हटाउने तयारी सुरु गरेको थियो ।
विगतमा जस्तै सूचना जारी हुने, कार्यान्वयनमा खासै चासो नदिने भएकाले सूचना जारी भएपछिको केही दिन सामान्य चर्चामात्र भयो । तर, यस पटक जसरी पनि सडक सीमाभित्रको संरचना हटाउने लक्ष्यसहित तयारी तिब्र बन्न थालेपछि घरधनीमा छटपटाहट सुरु भयो । सडक डिभिजनले दिएको समयसीमा घर्किंदै गएपछि केही दिनदेखि बजार क्षेत्रका पसल बन्द गर्न लगाएर घरधनीले विरोध प्रदर्शन गरिरहेका छन् । सूचना सार्वजनिक भएलगत्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई भेट्न काठमाडौं पुगेको घरधनी र मकवानपुर उद्योग वाणिज्य संघका प्रतिनिधिलाई मन्त्री घिसिङले सरकार कानुनी आधारमा अघि बढ्ने बताएपछि सडक विस्तारको विरुद्ध घरधनी र केही व्यवसायी आन्दोलित बनेका हुन् ।
सडक सीमा खाली गराएर सडक विस्तारको काम अघि बढाउन यस पटक सूचनासँगै व्यवस्थित तयारी भइरहेको छ । सरोकारवाला सबै निकायको सहभागितामा कार्यदल गठन भयो । कार्यदलले सडक सीमाभित्रको संरचना मार्किङसँगै माइकिङ गरेर संरचना खाली गर्न आग्रह गर्यो । नेपाल आयल निगमलाई सडक सीमाभित्र परेका पेट्रोल पम्पलाई पेट्रोलियम पदार्थ उपलब्ध नगराउन आग्रह गरेर पम्पको संरचना सार्न बाध्य पारियो । सडक सीमाभित्रको संरचना भत्काउने क्रममा मुख्य बजार क्षेत्रमा यातायात आवागमन रोक्न महेन्द्र राजमार्ग, त्रिभुवन राजपथ, कान्ति लोकपथ तथा मदन भण्डारी लोकमार्गमा सञ्चालन हुने सवारी साधनलाई बजार छिर्न रोक लगाएर बाइपास गर्ने योजनासहित बाइपास सडक मर्मत गरियो । सडक डिभिजनले संरचना हटाउन आवश्यक उपकरण तथा जनशक्तिको व्यवस्थापन र स्थानीय प्रशासनले सुरक्षाको प्रबन्ध गरिसकेको छ ।
तोकिएको समयसीमा सकिएपछि मंसिर २० गतेबाटै सडक सीमाभित्रको घरटहरा हटाउन सुरु हुने भएकाले उक्त कार्यमा सहयोग गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । सडक विस्तार कार्यमा अवरोध पुर्याउन सक्ने व्यक्तिहरुको बारेमा सूक्ष्म सूचना संकलन गरिसकेको प्रशासनले संरचना हटाउने क्रममा बाधा पु¥याएमा पक्राउ गरी कानुनी कारबाही गर्ने बताएको छ । अतिक्रमण हटाउने ठाउँमा अनावश्यक भिडभाड नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ । सडक विस्तारका लागि सडक सीमाभित्रको संरचना हटाउन सरकार दृढताका साथ अघि बढेको अवस्थामा दशकौंदेखि चर्चामा सीमित हेटौंडा बजार क्षेत्रको सडक सीमा खाली गरेर सडक विस्तार टुंगोमा पुग्ने अपेक्षा गरिएको छ ।
