Home मुख्य समाचार महाधिवेशन प्रतिनिधि हारेपछि पोखरेल भन्नुहुन्छ : किन २० प्रतिशत भन्दा कम मतदान...

महाधिवेशन प्रतिनिधि हारेपछि पोखरेल भन्नुहुन्छ : किन २० प्रतिशत भन्दा कम मतदान भयो ? समीक्षा गरौं ।

हेटौँडा : नेकपा एमालेको ११ औं महाधिवेशनका लागि मकवानपुरबाट प्रतिनिधि हारेपछि एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले मतदानको समीक्षा गर्न आग्रह गर्नुभएको छ । मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्नुभएका पोखरेल शनिबार सम्पन्न निर्वाचनमा पराजित हुनुभएको थियो ।

पराजित हुनुभएपछि उहाँले सामाजिक सञ्जाल मार्फत् अभिव्यक्ति राख्नुहुँदै मतदानको विषयमा समीक्षा गर्न आग्रह गर्नुभएको हो । श्रीमतीको उपचारका लागि वीर अस्पतालमा रहनुभएका अध्यक्ष पोखरेलले अस्पतालबाटै वारेस मार्फत उम्मेदवारी दर्ता गराउनुभएको थियो । उहाँको पक्षमा ३३४ मत मात्रै प्राप्त भएको थियो । आफू प्रतिनिधिको निर्वाचनमा पराजित भएपछि उहाँले मतदातालाई धन्यवाद दिनुहुँदै यसको समीक्षा हुने बताउनुभएको हो । एमालेका वरिष्ठ नेता इश्वर पोखरेललाई एमाले अध्यक्षमा समर्थन गर्दै आउनुभएका उहाँले २० प्रतिशत भन्दा कम मतदान भएको विषयमा समिक्षा गर्न भन्नुभएको हो ।

‘भ्रामक प्रचारका बाबजुद पनि आफूलाई मतदान गर्ने कमरेडहरुलाई धन्यवाद र समीक्षा गरौं किन २० प्रतिशत भन्दा कम मतदान भयो ?’ अध्यक्ष पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । एमाले मकवानपुरको अधिवेशनका क्रममा उहाँ कृष्णप्रसाद दाहाल पक्षमा रहनुभएको थियो । नेकपा विभाजनका क्रममा एमाले छाडेर एकीकृत समाजवादीमा जानुभएको थियो भने २०७९ को निर्वाचन अघि नेकपा एकीकृत समाजवादीको अध्यक्ष त्यागेर पुनः एमाले प्रवेश गर्नुभएको थियो । त्यसको केही समयमा भएको अधिवेशनमा एमाले मकवानपुरका अध्यक्षको उम्मेदवार बन्नुभएका पोखरेललाई कृष्ण दाहालको बलियो समर्थन रहेको थियो ।

उहाँले तत्कालिन समयमा विद्यादेवी पक्षमा रघुनाथ खुलाललाई उम्मेदवार बन्न रोक्नु भएको थियो । सो निर्वाचनमा पोखरेलले संस्थापन पक्ष (केपी ओली) निकटका इन्द्रमान स्याङ्तानलाई पराजित गर्नुभएको थियो । अध्यक्ष निर्वाचित भएको केही समय उहाँले पार्टीका गतिविधिमा सक्रिय सहभागिता देखाउनुभएको थियो । तर, पछिल्लो समय उहाँ पार्टीमा सक्रिय देखिनुभएको छैन । गत वर्ष सवारी दुर्घटनामा घाइते हुनुभएपछि उहाँ पार्टीको गतिविधिमा कम देखिन थाल्नुभएको हो । उहाँले कार्यवाहक जिम्मेवारी पनि दिनुभएको छैन ।

यता महाधिवेशन प्रतिनिधिमा भने ओली समुहले कब्जा गरेको छ । मकवानपुरको २ निर्वाचन क्षेत्रबाट छनौट भएका १७ जना प्रतिनिधि मध्य अधिकांश ओली समुहका हुन् । प्रतिनिधि सभा क्षेत्र नम्बर २ का प्रतिनिधि सर्वसम्मत रुपमा चयन हुँदा क्षेत्र नम्बर १ मा भने निर्वाचन प्रक्रियाबाट प्रतिनिधि छनौट गरिएको थियो ।

Exit mobile version