Home मुख्य समाचार हेटौंडा अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारीलाई प्रोत्साहन स्वरुप एक महिनाको तलब

हेटौंडा अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारीलाई प्रोत्साहन स्वरुप एक महिनाको तलब

हेटौंडाः हेटौंडा अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई एक महिनाको तलब प्रोत्साहन स्वरुप वितरण गरिएको छ । आर्थिक वर्ष २०७६/७७ मा बीमा कार्यक्रमबाट भएको आम्दानीको करिब १० प्रतिशत हुन आउने रकम प्रोत्साहन स्वरुप वितरण गरिएको हेटौंडा अस्पतालका प्रमुख डा. प्रविन श्रेष्ठले जानकारी दिनुभएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा हेटौंडा अस्पतालले बीमा कार्यक्रमबाट करिब ६ करोड रुपैयाँ आम्दानी गरेको थियो । बीमा कार्यक्रमबाट हुने आम्दानीको १० प्रतिशतसम्म रकम प्रोत्साहन स्वरुप वितरण गर्न पाउने व्यवस्थाअनुसार एक महिनाको तलब स्केल बराबरको रकम अस्पतालका एक सय ७० जना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई वितरण गरिएको छ । हेटौंडा अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीलाई एक महिनाको आधारभूत तलब बराबरको प्रोत्साहन रकम वितरण गर्दा करिब ६० लाख रुपैयाँ खर्च हुने बताइएको छ । हेटौंडा अस्पताल विकास समितिले प्रोत्साहन रकम वितरण गर्ने निर्णय गरेर सबै स्वास्थ्यकर्मी, कर्मचारीलाई वितरण गरिसकिएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा हेटौंडा अस्पतालले करिब १० करोड रुपैयाँ आम्दानी गरेको छ । खर्च कटाएर अहिले हेटौंडा अस्पतालको खातामा एक करोड २९ लाख बचत रहेको र बीमावापतको करिब ५० लाख रुपैयाँ आम्दानी प्राप्त हुन बाँकी रहेको हेटौंडा अस्पताल प्रमुख डा. श्रेष्ठको भनाइ छ । हेटौंडा अस्पतालले गत वर्ष पनि एक महिनाको तलबको ५० प्रतिशत हुने रकम प्रोत्साहन स्वरुप वितरण गरेको थियो ।

Exit mobile version