हेटौंडाः नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् बागमती प्रदेश इन्चार्ज राजन भट्टराईले जेनजी आन्दोलनमा लुटिएका हतियार र कारागारबाट भागेका कैदीबन्दी बाहिरै रहँदा निष्पक्ष चुनाव हुन नसक्ने बताउनुभएको छ । शनिबार नेकपा एमाले मकवानपुरले आयोजना गरेको मोटरसाइकल ¥यालीसहितको जनसभालाई सम्बोधन गर्दै भट्टराईले निष्पक्ष चुनावप्रति संशय रहेको बताउनुभएको हो ।
नेता भट्टराईले जेनजी आन्दोलनका समयमा लुटिएका हतियार र कारागारबाट भागेका कैदी अपराधिहरुलाई पक्राउ गरी सुरक्षित वातावरण बनाएमात्र चुनाव सम्भव रहेको बताउनुभयो । अहिलेको सरकार संविधान बिपरित बनेको हुनाले यो सरकारले निर्वाचन सम्पन्न गर्न नसक्ने उहाँको भनाइ छ ।
छोटो समयका लागि भए पनि संसद पुनस्र्थापना गरी संसदबाट चुनाव गर्ने प्रक्रियामा गएमात्र संविधानप्रदत्त रुपमा निर्वाचन सफल हुने बताउनुभएको छ । उहाँले एमालेले भ्रष्टाचारमा नाम मुछिएका नेताहरुलाई साथ नदिएको बताउँदै जेनजीको मागमा एमालेको समर्थन रहनेसमेत प्रष्ट पार्नुभयो ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर रानाले आन्दोलनको निहुँमा नेता तथा सर्वसाधारणको घर र सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गर्नेलाई निष्पक्ष छानविन गरी कानुनी कारबाही गर्न सरकारसँग माग गर्नुभयो । उहाँले आन्दोलनमा घुसपैठ गर्नेहरुलाई पक्राउ गरेर कानुनी राज्यको पालना गर्न सरकारसँग अपिलसमेत गर्नुभयो ।
अर्का केन्द्रीय सदस्य महेश बर्तौलाले एमाले नेताहरु भ्रष्टाचारमा संग्लग्न भएको आरोपको खण्डन गर्दै एमालेलाई घेराबन्दीमा पार्नको लागि मात्रै यस्ता आरोप लगाइएकोे भन्दै भ्रष्टाचारमा जोडिएकोे भेटिए कानुनबमोजिम कारबाहीको लागि उजुरी दिन चुनौतीसमेत दिनुभएको छ ।
नेकपा एमाले जिल्ला समिति मकवानपुरको आयोजनामा हुप्रचौरमा भएको कार्यक्रममा जिल्लाका १० वटै पालिका तथा हेटौंडा उपमहानगरपालिकाका सबै वडा समितिहरुबाट ठूलो संख्यामा कार्यकर्ताहरुको उपस्थिति थियो । जनसभापश्चात् उपस्थितहरुले मोटरसाइकल र्यालीमा सहभागी भई हेटौंडा बजार परिक्रमा गरी पुनः हुप्रचौरमा जम्मा भई कार्यक्रम समापन गरिएको थियो ।
शनिबार ७७ वटै जिल्ला समितिहरुले विभिन्न र्यालीसहितको सभा आयोजना गर्ने नेकपा एमालेको केन्द्रीय निर्देशनबमोजिम मकवानपुरमा पनि कार्यक्रम भएको हो ।
