मुलुकमा हुने गरेका विभिन्न आपराधिक घटनाहरु राजनीतिक आडमा सामसुम हुने गरेका छन् । राजनीतिमा अपराधीकरण बढ्दै गएका कारण राजनीतिक दल र नेताको आडमा अपराध गर्नेहरुले उन्मुक्ति पाउने गरेका हुन् । देशका प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र साविक नेकपा माओवादी केन्द्र दशकौंदेखि आलोपालो देशको शासन सत्तामा छन् । प्रायः तिनै दलको आडमा विभिन्न प्रकारका आपराधिक गतिविधिमा संलग्न हुनेहरु कानुनी कारबाहीबाट जोगिने गरेका थिए । पार्टीका नेताबाट दबाब आउँदा सुरक्षा निकाय निरिह बन्ने गरेको थियो । विभिन्न समयमा भएका आन्दोलनका क्रममा अराजकता प्रदर्शन गर्ने तथा आपराधिक क्रियाकलापमा सहभागी हुनेहरु पनि राजनीतिक आन्दोलनका नाममा जोगिँदै आएका थिए ।
गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा ठूलो विश्वंश मच्चाइयो । भदौ २३ गते सरकारले जेनजी प्रदर्शनकारीमाथि निर्मम गोली प्रहार गरेपछि २४ गते देशभर हिंसात्मक गतिवधि भयो । दुई दिनको आन्दोलनमा ७६ जनाको ज्यान गयो भने भौतिक संरचनामा व्यापक क्षति पुग्यो । २४ गते दिनभर काठमाडौं उपत्यकासँगै देशका प्रमुख शहरहरु आगोको मुस्लो धुँवाले ढाकेको थियो । केही घण्टाभित्रै देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, प्रतिनिधिसभा भवन, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालतसँग विभिन्न तहका अदालत, मन्त्रालय, विभाग, कार्यालयमा आगजनी गरियो । सुरक्षाकर्मीको हतियार तथा पोशाक लुट्नेदेखि निकायका थुप्रै एकाइहरुमा आगो लगाइयो र प्रहरीमाथि भौतिक आक्रमण गरियो । प्रमुख दलका विभिन्न तहका नेताहरुको घरमा लुटपाट तथा आगजनी भयो । केही व्यापारिक घरानाको व्यवसायसमेत जलाइयो ।
विगतमा जस्तै जेनजी आन्दोलनको क्रममा पनि अराजकता र विध्वंश मच्चाउनेहरुले विगतमा जस्तै कारबाहीबाट उन्मुक्ति पाउने आशंका धेरैलाई थियो । जेनजीकै सहमतिमा गठन भएको अन्तरिम सरकारले आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनी गर्नेहरुलाई जोगाउँछ भन्ने धेरैको अनुमानविपरित सरकारले यस्ता आपराधिक क्रियाकलापमा संलग्न पुष्टि भएकाहरुलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाएको छ । सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरुबाट सार्वजनिक भएको भिडियो फुटेजका आधारमा प्रहरीले आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरुलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाउने क्रममा मकवानपुर प्रहरीले पनि ५ जनालाई पक्राउ गरेको हो । प्रहरीले किटानी जाहेरीको आधारमा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री तथा एमाले नेता डोरमणि पौडेलको घरमा आगजनी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पौडेलको छोराको नाममा रहेको हेटौंडा–११ स्थित घरमा आगो लगाउने स्थानीय दुई जनालाई प्रहरीले पक्राउ गरको हो । यस्तै, प्रदेशसभा सचिवालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आगजनी गर्ने तीन जनालाई पनि भिडियो फुटेजका आधारमा प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
विधिको शासन कायम राख्नका लागि आपराधिक गतिविधिमा संलग्न जोसुकैलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउनैपर्छ । राजनीतिक शक्ति वा अन्य कुनै पनि आडमा अपराधीले उन्मुक्ति पाउनु हुँदैन । आन्दोलनका नाममा हुने गरेको अराजक र आपराधिक गतिविधि नरोक्ने हो भने भविष्यमा अवस्था झनै विकराल बन्नसक्छ । राज्यले चाह्यो भने अपराध गर्ने व्यक्ति जोकोही भए पनि कानुनी कारबाही गर्न सक्छ र गर्नुपर्छ । अपराध गर्नेलाई उन्मुक्ति कसैलाई सह्य हुँदैन । राजनीतिक आग्रह र पूर्वाग्रहबिना वास्तविक अपराधी पहिचान गरी कारबाही गर्न सकेमा अपराध नियन्त्रण, दण्डहिनताको अन्त्यसँगै सुशासन कायम गर्न सहज हुने निश्चित छ ।
