हेटौंडाः प्रत्येक वर्ष झैँ यो वर्ष पनि किराँत धर्मावलम्बीको महागुरु फाल्गुनन्दको १४१ औँ जन्मजयन्ती आज मंगलबार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । वि.सं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा जन्मेका फाल्गुनन्दको निधन वि.सं. २००५ सालमा भएको थियो ।
किराँत भाषा, लिपि, संस्कार, संस्कृति एवम् समाज सुधारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । किराँत समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दलाई उहाँले पु¥याउनुभएको योगदानको कदर गर्दै वि.सं. २०६६ मंसिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो । उहाँको योगदानको कदर गर्दै किराँती समुदायको बसोबास रहेको पूर्वी पहाडी जिल्लाहरू ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायतमा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ । साथै, काठमाडौँ उपत्यकामा पनि विभिन्न कार्यक्रम गरी किराँत समुदायले महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाउने गर्दछन् ।
