हेटौँडा : हिमालयन राइर्डस सोसाइटीको चौथो वार्षिक साधारणसभा शनिबार हेटौंडा–१८ गुम्बाडाँडामा सम्पन्न भएको छ । सोसाइटीका अध्यक्ष राजु थापामगरको अध्यक्षता तथा गुम्बाका लामागुरु मंगलसिंह लामाको प्रमुख आतिथ्यमा भएको साधारणसभामा कोषाध्यक्ष लक्ष्मीचरण श्रेष्ठले संस्थाको आयव्यय प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्य, उपाध्यक्ष भानुभक्त आचार्य, सचिव राजु थापामगर, कोषाध्यक्ष लक्ष्मीचरण श्रेष्ठलगायत संस्थापक सदस्यहरुलाई आजीवन सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो । करिब एकसय जना सदस्य रहेको सोसाइटीले मकवानपुरमा साइकलसँग सम्बन्धित गतिविधि गरिरहेको छ । सोसाइटीमा आवद्ध साइकलयात्रीले उत्तरी छिमेकी चीनको सिमाना केरुङदेखि दक्षिणी छिमेकी भारतीय सिमाना ठोरीसम्मको साइकलयात्रा सम्पन्न गरेका थिए । मेची–महाकाली, लुम्बिनी, पाल्पाको रानी महल, कोशी टाप्पु, काठमाडौँ, भक्तपुर हुँदै सर्लाहीको भरत ताल, बाराको गढीमाई मन्दिर, सिन्धुलीगढी, मकवानपुरगढीदेखि गोर्खा दरबारसम्मको यात्रा विभिन्न नाराका साथ पूरा गरेका थिए ।
आन्तरिक पर्यटकीयस्थलको प्रचारप्रसार र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले साइकल यात्रा गरिएको हो । सोसाइटीले नियमितरुपमा हरेक शनिबार सरसफाईका कार्यहरु पनि गर्दै आएको छ । सोसाइटीका सदस्य विकास बानियाँले साइकलयात्रा गर्दै समुन्द्री सतहदेखि ५ हजार एकसय ६ मिटर उचाइमा रहेको गोरखा जिल्लाको लार्के–ला पास गतसाता सम्पन्न गर्नुभएको छ । सोसाइटीले वार्षिक क्यालेण्डर बनाएर गतिबिधि गर्ने साधारणसभामा बताइएको छ ।
