हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–९ रजैयामा सरकारी बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । शुक्रबार दिउँसो ४ बजेर १५ मिनेटको समयमा पूर्व–पश्चिम राजमार्गमा हेटौँडाबाट रजैयातर्फ जाँदै गरेको मनहरी गाउँपालिकाको अनुगमन टोली सवार बा १ झ ८९६० नम्बरको सरकारी बोलेरो गाडीले सोही दिशाबाट मनहरीतर्फ जाँदै गरेको बा.प्र.०३–००४ प ६३१४ नम्बरको मोटरसाइकललाई ठक्कर दुई जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरको भिमफेदी गाउँपालिका–६ ढोरसिंहका रुपेश ३४ वर्षीय जंग राना मगर र उनकी श्रीमती ३१ वर्षीया उषा राना मगर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि बोलेरो गाडी गाउँपालिकाको कार्यालयमा राखिएको छ भने बोलेरोका चालक हेटौँडा–९, गुम्बाचोकका ४५ वर्षीय राजेन्द्र भट्टराई मनहरी गाउँपालिकाको लेखा शाखामा कार्यरत छन् । उनी हाल प्रहरीको सम्पर्कमा रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।
यस्तै, हेटौँडा–१० बुद्धचोक नजिक राप्ती रोडमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जना घाइते भएका छन् । शुक्रबार साँझ ६ बजेर ३० मिनेटको समयमा थानाभर्यङबाट बुद्धचोकतर्फ जाँदै गरेको बा ५४ प ३४५ नम्बरको मोटरसाइकलले भित्रि सडकखण्डस्थित सार्वजनिक शौचालयतर्फबाट सहकारी अस्पताल जाँन बाटो क्रस गर्दै गरेको ना.६२ प २२२० नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा स्कुटर चालक मकवानपुरको बागमती गाउँपालिका–२ राईगाउँका २५ वर्षीय रविन बल घाइते भएका छन् । उनको बायाँ खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । बललाई मकवानपुर सन्चो अस्पताल, हेटौँडामा सामान्य उपचार पश्चात थप उपचारका लागि चितवनस्थित सिएमसी मेडिकल कलेज भरतपुर, लगिएको छ । मोटरसाइकल चालक तनहुँ जिल्ला भानु नगरपालिका–६, घर भई हाल हेटौँडा–११ थानाभ¥याङ बस्ने १९ वर्षीय अबिन लामालाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको प्रहरीले जनाएको छ ।
