हेटौँडा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा पूर्व सांसद हरि ढकालले चितवनलाई राजनीतिक विद्रोहको उद्गमस्थल भएको बताउनुभयो । पार्टीको विस्तारित भेलालाई चितवनमा सम्बोधन गर्दै उहाँले रास्वपा यथास्थितिको विरुद्धमा लड्नकै लागि स्थापना भएको र सत्तामा गए पनि त्यो चरित्र नफेरिने स्पष्ट पार्नुभयो ।
उहाँले ३५ वर्षसम्म देशमा यथास्थितिमा रमाएका शक्तिहरूलाई रास्वपाले चुनौती दिएको र अब पनि दिइरहने बताउनुभयो। विगतमा सभापति रवि लामिछानेमाथि अन्याय भएको कुरा वर्तमान सरकारले स्वीकार गरेको उल्लेख गर्दै ढकालले अब नयाँ सत्तासँग पनि प्रश्न गर्ने समय आएको बताउनुभयो ।
‘चितवनको यो क्षेत्र विद्रोह, राजनीतिक विद्रोहको उद्गमस्थल पनि हो । २०७९ सालमा हामीले थालेको विद्रोह यथास्थितिमा रमेकाहरूका लागि एउटा सिर्जनात्मक र सभ्य विद्रोह थियो,’ उहाँले भन्नुभयो, ‘सत्ताको कुर्सीमा बसेपछि बन्ने धारणाहरू यदि यथास्थितिकै पक्षमा हुन्छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसलाई स्वीकार्दैन ।’
नेता ढकालले पार्टीको आगामी लक्ष्यका लागि सबै नेता तथा कार्यकर्ताहरू योद्धा बन्न तयार रहनुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीभित्र सिर्जनात्मक बहस, विचार र तर्कहरूलाई स्थान दिँदै अझ बलियो बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
