हेटौंडा : बागमती प्रदेशको दुई जिल्लामा सवारी दुर्घटनामा परि एकैदिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको काभ्रे र सिन्धुली जिल्लामा बिहीबार ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
काभ्रेको चौतारा साँगाचोकगढी नगरपालिका–७, झ्याडिमा मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार राती १० बजेर ५० मिनेटको समयमा चौतारा भिमटार भित्री सडकखण्डमा भिमटारबाट चौतारातर्फ जाँदै गरेको मोटरसाइकाल अनियन्त्रीत भई सडकको किनारामा ढुङ्गामा ठोकिँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडी सवार ईन्द्रावती गाउँपालिका–९, का ३७ वर्षीय खील बहादुर कुँवर गम्भिर घाइते भएका थिए । कुँवरलाई चौतारा अस्पतालमा ल्याई सामान्य उपचार पश्चात थप उपचारका लागि केएमसी अस्पताल लगिएको थियो । उपचारको क्रममा बिहीबार बिहान ११ बजेर ४५ मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९, निष्टकलेज अगाडी डिआईले ठक्करदिँदा पैदलयात्रुको मृत्यु भएको छ । बिहीबार साँझ ६ बजेर ३० मिनेटको समयमा नालाबाट बनेपातर्फ जाँदै गरेको नम्वर नखुलेको डिआई गाडीले तेमाल गाउँपालिका–८ मेछेपौवाकी ४० वर्षीया अप्सरा रायमाझीलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । डिआइको ठक्करबाट अप्सरा गम्भिर घाइते भएकी थिइन् । अप्सरालाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल लगिएकोमा उपचारको क्रममा साँझ ७ बजेर १० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने डिआइको खोजि भई रहेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० स्थित बगुवामा ट्याक्टरबाट झर्ने क्रममा घाईते भएका बालकको मृत्यु भएको छ । बिहीबार साँझ ७ बजेको समयमा मेलम्ची नवलपुर भित्रि सडकखण्डमा मेलम्चिबाट नवलपुरतर्फ जाँदै गरेकोे ना.६ त ८४१९ नम्बरको ट्याक्टरबाट झर्ने क्रममा ट्याक्टरको टायरले किच्दा १३ वर्षीय रोशन नेपाली घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते बालकलाई उपचारका लागि नवलपुर प्राथमिक अस्पतालमा लगिएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको थियो । ट्याक्टर चालक सिन्धुली जिल्लाको मरिन गाउँपालिका–५, का ३० वर्षीय बुद्दिमान माझिलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
