हेटौँडा : लोकसेवा आयोगले शनिबार लिएको खरिदार वा सो सरहको प्रथम चरणको पूर्वयोग्यता परीक्षामा २ हजार ८४ जना परीक्षार्थी अनुपस्थित भएका छन् । हेटौंडा परीक्षा केन्द्र राखी आवेदन दिएकाहरुमध्ये ६ हजार १ सय ४० जना परीक्षार्थीमात्रै उपस्थित भएका हुन् ।
हेटौंडाको ४१ वटा केन्द्रमा भएको परीक्षामा ३ हजार ६४ जना महिला र ३ हजार ७६ जना पुरुष उपस्थित भएको लोकसेवा आयोग हेटौंडा कार्यालयका सूचना अधिकारी बद्रीनाथ सापकोटाले जानकारी दिनुभयो । यसअघि असोज ४ गते तय गरिएको परीक्षा जेनजी आन्दोलनका कारण स्थगित भएको थियो ।
आयोगले संगठित संस्था, अप्राविधिक, सहायकस्तर द्वितीय/खरिदार वा सो सरह/चौथो तह वा सो सरह पदको खुला प्रतियोगितात्मक लिखित परीक्षामा सामान्यज्ञान, व्यवस्थापन, गणित र सेवासम्बन्धी बहुवैकल्पिक प्रश्नहरु सोधेको थियो । एक सय पूर्णाङ्कको ५० वटा प्रश्न सोधिएको परीक्षामा उत्तीर्ण हुन ४५ अंक ल्याउनु पर्नेछ । यस परीक्षामा उत्तीर्ण हुनेहरुले मात्र दोस्रो चरणको लिखित परीक्षामा सहभागी हुन पाउनेछन् ।
यो परीक्षा उत्तीर्ण हुनेहरुले एक वर्षको लागि प्रमाणपत्र पाउनेछन् । पूर्वयोग्यता परीक्षामा पास भएको प्रमाण भएकाहरुले मात्रै नयाँ विज्ञापनमा आवेदन दिन सकिने व्यवस्था रहेको छ । हालसम्म लोकसेवा आयोगमा एक सय एक संगठित संस्थाको विवरण आएको र यी नियम संघीय सरकारको मातहतमा रहेका सबै संगठित संस्थामा लागू हुने सूचना अधिकारी सापकोटाले जानकारी दिनुभयो ।
