हेटौँडाः मकवानपुरको हेटौँडाबाट बलात्कार र चोरीका फरार प्रतिवादी पक्राउ परेका छन् । गत असोज ३१ गते जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ११ जनामध्ये २ जना बलात्कार र चोरीमा संलग्न फरार अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक पुस्कर बोगटीका अनुसार हेटौंडा(१० बाट पक्राउ परेका व्यक्तिहरुको पृष्ठभूमि अनुसन्धान गर्ने क्रममा २ जना फरार अभियुक्त रहेको तथ्य खुलेको हो । जसमध्ये हेटौंडा १० बस्ने ३७ वर्षीय अर्जुन तामाङ भन्ने विजय तामाङ बलात्कारको घटनामा संलग्न भई अदालतले दोषी ठहर गरेको प्रवक्ता बोगटीले जानकारी दिनुभयो। तामाङलाई जिल्ला अदालत सिन्धुपाल्चोकले मिति २०७४ साउन ११ गते जबर्जस्ती करणी मुद्दामा १० वर्ष कैदको फैसला सुनाएको थियो । उनी त्यसयता फरार रहँदै आएका थिए ।
यसैगरी पक्राउ परेका अर्का व्यक्ति मकवानपुरको बागमती गाउँपालिका ५, ज्यामिरेका २७ वर्षीय राजेश दर्नाल भन्ने हेमन्त परियार माथि चोरी र डाँका गरेको आरोप छ । उनीमाथि जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त महाराजगञ्ज काठमाडौंबाट गरी चोरी तथा डाँका कसुरमा ५ वटा मुद्दा चलेको अनुसन्धानबाट खुलेको प्रवक्ता बोगटीले बताउनुभयो।
पक्राउ परेका अन्य ९ जनालाई जुवा सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको छ भने फरार रहेका तामाङ र दर्नाललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइने उहाँले बताउनुभयो। प्रवक्ता बोगटीका अनुसार असोज ३१ गते हेटौंडा १० मा जुवातास भइरहेको सूचनाको आधारमा खटिएको टोलीले ११ बुक तास र नगद ६ लाख ६ हजार ३ सय १० रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको थियो ।
