Home खेलकुद ७ ए साइड फुटबलको उपाधि तासिरले उचाल्यो

७ ए साइड फुटबलको उपाधि तासिरले उचाल्यो

उपाधि विजेता तासिर स्कूलको टिम।

हेटौँडा : हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीस्थित तासिर इंग्लिस बोर्डिङ्ग स्कूलले पहिलो संस्करणको अखिल (क्रान्तिकारी) ७ ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको प्रतियोगिताको फाइनल खेलमा रस्सल एकेडेमीलाई १–० गोलअन्तरले पराजित गर्दै तासिरले उपाधी जितेको हो ।

उपाधि विजेता तासिर स्कूलले १५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता रस्सल एकेडेमीले भने नगद १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुरले आयोजना गरेको १६ वर्ष उमेर समूहको प्रतियोगिता सोमबारबाट सुरु भएको थियो । प्रतियोगितामा हेटौँडाका ८ वटा निजी विद्यालयले सहभागिता जनाएको थियो । गत वर्ष असोज १२ गतेको अविरल वर्षाका कारण गएको पहिरोमा परी ज्यान गुमाएका किशोर खेलाडीहरूको सम्झनामा विद्यालयस्तरीय फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।

फाइनल खेलअघि मंगलबार नै बिहान भएको पहिलो सेमिफाइनल खेलमा हेटौँडा–५ स्थित सिद्धार्थ शिशु सदनलाई टाइब्रेकरमा २–० गोलअन्तरले पराजित गर्दै तासिर फाइनलमा पुगेको थियो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । त्यसैगरी दोस्रो सेमिफाइनल खेलमा भने हेटौँडा–८ स्थित माउण्ट एभरेष्ट एकेडेमीलाई ४–१ गोलअन्तरले हराउँदै रस्सल एकेडेमीले फाइनलमा स्थान बनाएको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तासिर स्कूलका अक्षय डंगोल र उत्कृष्ट गोलरक्षक सुदन मैनालीे बने । त्यसैगरी तासिरकै एलेक्स आचार्य सर्वाधिक गोलकर्ता बने । उनीहरू सबैले मेडल तथा ट्रफी पुरस्कार प्राप्त गरेका हुन् । अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला अध्यक्ष बुद्धराज अर्यालको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशकी पूर्वमन्त्री एवम् प्रदेशसभा सदस्य कुमारी मोक्तान रहनुभएको थियो ।

Exit mobile version