हेटौँडा : बागमती प्रदेश सरकारले प्रदान गर्दै आएको नवप्रवर्तन उद्यमी सम्मान २०८२ का लागि उद्यमीहरुलाई प्रस्ताव पेश गर्न आह्वान गरेको छ । उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले शुक्रबार सूचना प्रकाशित गर्दै बागमती प्रदेशका सबै जिल्लामा बसोबास गर्ने नवप्रवर्तन उद्यमीहरुलाई सम्मान कार्यक्रममा सहभागी हुन प्रस्ताव पेश गर्न आग्रह गरेको हो ।
आवेदन दिन चाहने उद्यमीहरुले आ–आफ्नै जिल्लास्थित उद्योग तथा वाणिज्य कार्यालयमार्फत् प्रस्ताव आवेदन बुझाउनुपर्नेछ । मन्त्रालयको उद्योग महाशाखाका अनुसार प्राप्त आवेदनका आधारमा प्रदेशका १३ वटै जिल्लाका उत्कृष्ट उद्यमीहरु १३ जना र १ जना सर्वोत्कृष्ट उद्यमी छानिने छ । नवप्रवर्तन उद्यमी सम्मान मापदण्ड २०८१ अनुसार छानिएको सर्वोत्कृट उद्यमीले करसहित नगद १ लाख रुपैयाँ प्राप्त गर्ने र १३ जना उत्कृष्ट उद्यमीहरुलाई प्रतिउद्योग ४० हजारको दरले पुरस्कार रकम प्रदान गरिने मन्त्रालयले जनाएको छ । सम्मान कार्यक्रममा सहभागी हुन चाहने नवप्रवर्तन उद्यमीहरुले तोकिएको मापदण्ड पूरा गर्नुपर्ने सूचनामा उल्लेख छ ।
सम्मान कार्यक्रममा सहभागी हुन कम्तीमा दुई वर्षदेखि निरन्तर उद्योग सञ्चालन भइरहेको हुनुपर्नेछ । नवप्रवर्तन उद्यमी सम्मान मापदण्ड २०८१ अनुसार आफैंले प्रविधि डिजाइन गरी सञ्चालन गरेका, धेरै संख्यामा पूर्ण रोजगारी दिएका र स्थानीय स्रोत र साधन प्रयोग गरी उद्यम सञ्चालन गरेकालाई बढी अंक प्रदान गरिनेछ । विशेष प्राथमिकता प्राप्त समूह भएको, उत्पादित वस्तुको ब्राण्डिङ तथा बजारीकरण राम्रो भएकाले बढी अंक प्राप्त गर्ने व्यवस्था छ । नवप्रवर्तन उद्यम गर्न चाहनेहरुलाई थप प्रोत्साहन गराउने र युवाहरुलाई उद्योगमा आकर्षण गर्ने उद्देश्यले यो सम्मान कार्यक्रमलाई आगामी दिनमा अझै परिस्कृत बनाउँदै निरन्तरता दिने मन्त्रालयले जनाएको छ ।
२०८० सालदेखि प्रदेशभित्रका उद्यमीहरुलाई प्रदान गर्न थालिएको उक्त सम्मान यसवर्ष मंसिर ९ गते पर्ने अन्तर्राष्ट्रिय उद्योग दिवसको अवसरमा प्रदान गरिने उद्योग महाशाखाका टेकेन्द्रबहादुर थापा मगरले जानकारी दिनुभयो । यसअघि नवप्रवर्तन उद्यमी सम्मान २०८१ को सर्वोत्कृष्ट सम्मान काभ्रेपलाञ्चोक जिल्लास्थित बनेपा नगरपालिका–१३ को झ्याम्भल कृषि फर्म उद्योग प्रालिले प्राप्त गरेको थियो । प्रत्येक जिल्लाका एक–एक उद्यमीहरुले उत्कृष्ट उद्यमी सम्मान प्राप्त गरेका थिए ।
