Home मुख्य समाचार आँखा स्वास्थ्यप्रति सचेतनाको कमि

आँखा स्वास्थ्यप्रति सचेतनाको कमि

हेटौँडा : नेपालमा दृष्टि सम्बन्धी समस्या भएका व्यक्तिहरु मध्ये ३३ प्रतिशतले दृष्टिमा समस्या नै नठान्ने गरेको अनुसन्धानले देखाएको छ । विश्व दृष्टि दिवसको अवसरमा बिहिबार सामुदायिक आँखा अस्पताल हेटौँडाले आयोजना गरेको अन्तरक्रियामा अस्पतालका प्रमुख डा. सुनिल थकालीले आँखाको विभिन्न समस्याबारे जानकारी दिनुभएको हो ।

उहाँले वर्तमान परिवेशमा आँखाको दृष्टि स्वास्थ्य सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुहुँदै नेपालमा आँखा तथा दृष्टिमा समस्या भएको तर खर्च नभएकोले उपचार नगराउने ३० प्रतिशत रहेको, डर तथा भ्रमका कारण १२ प्रतिशत र उपचारको पहुँच नभएर १३ प्रतिशत व्यक्तिहरुले समस्या लिएरै जीवनयापन गरिरहेको अनुसन्धानले देखाएको बताउनुभयो । विशेषगरी सन् २००१ देखि तिलगंगा आँखा प्रतिष्ठानले आँखाका विभिन्न समस्यामा उपचार दिँदै आएकोमा तत्कालिन परिवेशमा मोतियाविन्दुको समस्या बढी देखिएकोमा अहिले पनि मोतियाविन्दुको समस्या नघटेको अस्पताल प्रमुख डा. थकालीले स्पष्ट पार्नुभयो । त्यतिबेला आँखाको समस्या भएकामध्ये ६२.२ प्रतिशतमा मोतियाविन्दु देखिएकोमा सन् २०१५ पछि पनि ६५ प्रतिशत बिरामीमा मोतियाविन्दु नै देखिएको उहाँको भनाइ छ ।

यस्तै पछिल्लो समय मधुमेह (डायबेटिज) का बिरामीहरुको आँखामा अन्धोपनको समस्या बढ्दै गएको पाइएपनि २४ प्रतिशत मधुमेहका बिरामीहरुले आँखा नै परीक्षण नगरेको पनि अस्पतालको तथ्याङक छ । पछिल्लो समय विश्व स्वास्थ्य संगठनले कम्प्युटर मोबाइल लगायतका नजिकमा बसेर डिजिटल स्क्रिन चलाउने कारणले सन् २०५० सम्ममा विश्वका आधा जनसंख्यामा नै टाढाको वस्तु देख्न नसकिने दृष्टिदोष हुन सक्ने आँकलन गरेको छ ।

यस्तै यस अस्पतालमा नेपाल लगायत भारतबाट पनि आँखा जाँच तथा उपचारका लागि आउने गरेको कार्यक्रममा जानकारी दिइएको छ । अस्पतालले १ लाख २३ जार भन्दा बढी आँखाको जाँच तथा ६ हजार भन्दा बढी आँखाको शल्यक्रिया गरेको र ९७ वटा शिविर मार्फत ४२ हजार भन्दा बढीलाई सेवा दिएको समेत अस्पतालका प्रमुख डा. थकालीले जानकारी दिनुभयो । सन् २०२४ देखि याग लेजर मेसिन खरिद गरी कृत्रिम बौद्धिकता (एआई) मार्फत मधुमेहको समस्या भएका विरामीको आँखाको जाँच गरिररहेको समेत जनाएको छ । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका, रोटरी क्लब, लायन्स क्लब लगायत विभिन्न संघ सँस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

आँखा स्वास्थ्य सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुहुँदै डा. सुनिल थकाली ।

Exit mobile version