हेटौँडा : जेनजी आन्दोलनका क्रममा आगजनी तथा तोडफोड भई क्षति पुगेको जिल्ला अदालत मकवानपुरमा मंगलबारदेखि थप सेवा विस्तार गरिएको छ । मंगलबार जिल्ला अदालतको न्यायाधीशहरुसहितको पूर्ण बैठकले नियमित मुद्दाको पेशी बाहेक अन्य सेवाहरु सञ्चालन गर्ने निर्णय गर्दै सेवा विस्तार गरिएको हो ।
मंगलबार जिल्ला अदालतका न्यायाधीशहरु गीता श्रेष्ठ, शकुन्तला कार्की, निर्मला शर्मा र पूर्णिमा कोइरालासहितको पूर्ण बैठकले तारेख दिने, बयान लिने, मुद्दा दर्ता, मुद्दा फिर्ता, मिलापत्र, प्रतिउत्तर दर्ता, प्यारोल निवेदन, रोक्का तथा फुकुवा सम्बन्धी निवेदनहरु लगायतका १३ प्रकारका सेवा विस्तार गर्ने निर्णय गरेको हो । यससँगै अदालतमा नियमित मुद्दा पेशी बाहेक अन्य सेवा सुचारु हुने भएको छ । सर्वोच्च अदालतको एकीकृत कार्य प्रणाली (सर्भर) आन्दोलनको आगजनीमा परेर नष्ट भएकाले मुख्य प्रणाली पुनः सुचारु नभएसम्म नियमित मुद्दाको पेशी नहुने जिल्ला अदालतका स्रेस्तेदार केशवराज कौशिकले जानकारी दिनुभयो ।
यसअघि भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनमा जिल्ला अदालतमा तोडफोड तथा आगजनीबाट क्षति पुगेपछि अदालत सुचारु गर्न असहज भएको थियो । आन्दोलनपछि सेवा ठप्प भएको अदालतमा भदौ मसान्तदेखि थुनुवा म्याद थप, जरुरी पक्राउ पुर्जी, पक्राउ अनुमति, प्रहरीद्वारा पक्राउ भइसकेकाहरुको बयान तथा थुनछेक आदेश जस्ता विशेष सेवा मात्र सुचारु भइरहेका थिए । आगजनीमा परेर अदालतका ७ वटा चालु मिसिल र ५ सय ३४ वटा अभिलेख मिसिल जलेर नष्ट भएको बताइएको छ । हाल यस अदालतमा १ हजार ७ सय मुद्दाहरु चालु अवस्थामा रहेका छन् ।
