Home मुख्य समाचार प्रदेश सरकार ’हाई अलर्ट’ मा, काठमाडौंमा आपत्कालीन बैठक

प्रदेश सरकार ’हाई अलर्ट’ मा, काठमाडौंमा आपत्कालीन बैठक

बागमती प्रदेश मन्त्रिपरिषद्को आपत्कालिन बैठकमा सहभागी मुख्यमन्त्रीसहित मन्त्रीहरु ।

हेटौँडा : अविरल वर्षाका कारण बाढीपहिरो जस्ता विपद्को जोखिम बढेको भन्दै बागमती प्रदेश सरकारले उच्च सतर्कता अपनाउँदै आपत्कालीन प्रतिकार्य योजना अघि सारेको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको नेतृत्वमा बसेको मन्त्री तथा सचिवहरूको आपत्कालीन बैठकले विपद्को समयमा तत्काल उद्दार, राहत र समन्वयका लागि एकीकृत संयन्त्र निर्माण गरी नागरिकको जीउ, धनको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।

बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रीको संयोजकत्वमा भौतिक पूर्वाधार, आर्थिक मामिला, खानेपानी सिँचाइ तथा वन मन्त्रीहरू सम्मिलित एक द्रुत प्रतिकार्य टोली गठन गरेको छ । सो टोलीले विपद्को अवस्थामा तत्काल समन्वय गरी आवश्यक निर्णय लिने र स्रोतसाधन परिचालन गर्ने जिम्मेवारी पाएको छ ।

बैठकमा विपद् प्रतिकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग तत्काल समन्वय गरी उद्दार र राहत कार्यलाई प्रभावकारी बनाउन आन्तरिक मामिला मन्त्रालयलाई मुख्य जिम्मेवारी तोकिएको छ । अलपत्र परेका यात्रुहरूको उद्दार, प्रभावितलाई तत्काल राहत र सुरक्षित स्थानमा सार्ने कामलाई प्राथमिकतामा राख्ने बैठकले निर्णय गरेको छ । हेटौँडा, धुलिखेल र नुवाकोटमा रहेका विपद् सामग्री गोदामहरूबाट तत्काल त्रिपाल, खाद्यान्न जस्ता अत्यावश्यक सामग्री पठाउने व्यवस्था मिलाउन निर्देशन दिइएको छ भने भौतिक पूर्वाधार मन्त्रालयले प्रदेशभित्रका राजमार्ग तथा सहायक मार्गहरूमा पहिरोका कारण हुन सक्ने अवरोध हटाउन हेभी इक्विपमेन्टहरू (डोजर, लोडर) तयारी अवस्थामा राख्न निर्देशन गरिएको छ ।

दूध, तरकारी जस्ता दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई सहज बनाउन र यातायात अवरुद्ध हुन नदिन उच्च प्राथमिकताका साथ काम गर्न मातहतका निकायलाई निर्देशन गरिएको सरकारका प्रवक्ता एवम आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार विपद् प्रतिकार्यका लागि बजेटको अभाव हुन नदिने, विपद् व्यवस्थापन कोषबाट तत्काल आवश्यक रकम निकासा गरी सामग्री खरिद र परिचालन गर्ने निर्णय भएको छ ।

मुख्यमन्त्री बानियाँले विपद्को समय गफ गर्ने नभई जनताले महसुस गर्ने गरी तत्काल काममा जुट्न सबै मन्त्रालयलाई निर्देशन दिनुभएको थियो । बाढीपहिरो र विपद्को जोखिमलाई मध्यनजर गर्दै प्रदेशका सबै मन्त्रालय र सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा रहन उहाँले निर्देशन दिनुभएको छ । उहाँले आम नागरिकलाई विपद्को जोखिम उच्च रहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन अपिल गर्नुभएको छ । प्रदेश सरकार कुनै पनि विपद्को अवस्थामा जनताको साथमा रहेको र तत्काल राहत तथा उद्दारका लागि चौबिसै घण्टा सक्रिय रहने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रदेश सरकार विपद्को समयमा ‘कुराभन्दा काम’मा केन्द्रित हुनुपर्ने र जनताले सरकार आफ्नो साथमा छ भन्ने तत्काल महसुस गर्ने गरी उद्दार तथा राहत कार्यमा जुट्नुपर्ने उहाँले बताउनुभयो । ‘यो दशैँको मुख पनि छ, तर विपद्को जोखिम पनि उत्तिकै छ । हामीले तत्काल गर्न सक्ने भनेको रेस्क्यु, रिलिफ र उद्दार हो,’ मुख्यमन्त्री बानियाँले भन्नुभयो, ‘यसका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरी एउटा ‘युनिफाइड कमाण्ड’को अवधारणामा तत्काल काम अघि बढाउनुपर्छ । हामीले मानवताको भावनाले काम गर्ने हो । जनतालाई परेको दुःख र पीडामा तत्काल मलम लगाउने गरी हाम्रो उपस्थिति देखिनुपर्छ ।’

Exit mobile version