हेटौंडा : गत भदौ २३ र २४ गते देशव्यापीरुपमा भएको ‘जेन जी आन्दोलन’ का क्रममा भएको आगजनी र तोडफोडबाट बागमती प्रदेशका ५ जिल्लामा रहेका सरकारी संरचना क्षति पुग्यो । आन्दोलनकारीहरुको मुख्य निशानामा परेको बागमती प्रदेशमा ठूलो मात्रामा भौतिक सम्पत्ति नष्ट भएको थियो ।
प्रदेश सरकार अन्तर्गतका विभिन्न सरकारी संरचनामा आगजनी तथा तोफोडका कारण ९० करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । आन्दोलनका कारण प्रदेशको राजधानी हेटौंडामा रहेको प्रदेशसभा भवन पूर्णरुपमा क्षतिग्रस्त भएको छ । जसबाट मात्रै ३० देखि ३५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।
भर्खरै उद्घाटन गरिएको नयाँ सभाहलसहित प्रदेशसभाका ५ वटा भवन, सवारी साधन र महत्वपूर्ण कागजातहरु आगजनीमा नष्ट भएका छन् । प्रदेशसभाका बैठक कक्ष, अभिलेख कोठा र अन्य संरचनाहरु ध्वस्त भएका छन् । जसले गर्दा प्रदेशसभा बैठक सञ्चालन गर्ने स्थानको समेत अभाव भएको छ ।
यस्तै, हेटौंडामा नै रहेको बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र अन्तर्गतका कार्यालयहरूमा साढे ५ करोड रुपैयाँ बराबरको क्षति भएको छ । मन्त्रालयका अधिकांश कोठाहरु र कागजातहरु जलेर नष्ट भएका छन् । मन्त्रालय अन्तर्गतका ४० वटा सवारी साधनमा पनि आगजनी गरिएको छ ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार प्रदेशको काठमाडौं, चितवन, भक्तपुर, मकवानपुर र ललितपुर जिल्लामा गरी कुल ६० वटा भवनमा क्षति पुगेको छ । क्षति पुगेकामध्ये २६ वटा सरकारी कार्यालयमा बढी क्षति भएको उहाँले बताउनुभयो ।
सबैभन्दा बढी क्षति मकवानपुर जिल्लामा भएको छ । यहाँ १७ वटा कार्यालयका ४० वटा भवनमा क्षति पुग्दा ३९ करोड ९३ लाख ७२ हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ । चितवनमा २ करोड ८४ लाख, ललितपुरमा १ करोड ९१ लाख, काठमाडौंमा १ करोड ५८ लाख र भक्तपुरमा १ करोड ५७ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
क्षतिको प्रारम्भिक आँकडाअनुसार भवनतर्फ मात्रै ९० करोड १९ हजार रुपैयाँको नोक्सानी भएको मन्त्री तामाङले बताउनुभयो । उहाँका अनुसार एक सय ९५ वटा दुई तथा चारपांग्रे सवारी साधन र अन्य जिन्सी सामानमा भएको क्षति ४२ करोड ७ लाख रुपैयाँ अनुमान गरिएको छ । उक्त अनुमान ह्रास कट्टीपछिको मूल्य रहेको उहाँको भनाइ छ ।
‘प्रदेशमा कुल भौतिक संरचनामा क्षति ४७ करोड ९३ लाख ५४ हजार रुपैयाँको देखिएको छ । जसमा ६० वटा भवन संरचना रहेका छन् । सोमध्ये २६ वटामा पूर्ण क्षति पुगेको छ,’ मन्त्री तामाङले भन्नुभयो, ‘सवारी साधनमा क्षति पनि बढी नै रहेको छ । सवारी साधनको क्षति २१ करोड ६७ लाख ५५ हजार रुपैयाँ रहेको छ । जसमा एक सय ४२ दुईपांग्रे र ५३ चारपांग्रे सवारी रहेका छन् । आन्दोलनको क्रममा २० करोड ४० लाख ८१ हजार रुपैयाँको जिन्सी सामानमा क्षति पुगेको छ ।’
मन्त्री तामाङले जेनजी आन्दोलनका क्रममा प्रदेश सरकार मातहतका संरचनाको क्षतिग्रस्त भवनहरुको पुनर्निर्माणका लागि मात्रै ७१ करोड ४१ लाख ४० हजार रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । यथाशिघ्र पुनःस्थापना गर्ने गरी सरकारले टोली खटाएर काम गरिरहेको उहाँले बताउनुभयो ।
भाडाका कार्यालयको क्षति विवरण संकलन गरिँदै
प्रदेश सरकारले भाडामा लिएका निजी घरमा सञ्चालित यातायात क्षेत्रका ४ वटा कार्यालयमा पनि क्षति पुगेको मन्त्री तामाङले बताउनुभयो । काठमाडौंको चाबहिल र भक्तपुरको राधेराधे तथा चितवन र मकवानपुरमा रहेका यातायात कार्यालय राखिएको निजी सम्पत्तिमा भएको क्षतिको विवरण संकलन भइरहेको उहाँले बताउनुभयो ।
मन्त्री तामाङका अनुसार उक्त भवनहरुको क्षतिको मूल्यांकनका लागि प्राविधिक टोली पठाइएको र बीमा गरिएको भए बीमा दाबी गर्ने विषयमा छलफल भइरहेको छ । प्रदेशले भाडामा लिएका व्यक्तिगत सम्पत्तिमा क्षति पुगेको अवस्थामा के गर्ने भन्ने विषयमा छलफल भए पनि कुनै निर्णय भइनसकेको उहाँले बताउनुभयो ।
