Home मुख्य समाचार मुग्लिन–नारायणगढ सडक अवरुद्ध, वैकल्पिक मार्गमा सवारीको चाप

मुग्लिन–नारायणगढ सडक अवरुद्ध, वैकल्पिक मार्गमा सवारीको चाप

हेटौँडा : चितवन जिल्लाको मुग्लिन–नारायणगढ सडकखण्डमा तुइनखोलामा बारम्बार पहिरो खसेर यातायात अवरुद्ध भएपछि संघीय राजधानी काठमाडौंसँग जोड्ने मकवानपुरका वैकल्पिक मार्गमा सवारीको अस्वाभाविक चाप बढेको छ । मुख्यमार्ग बन्द भएपछि तराईका जिल्ला, पूर्व र पश्चिमबाट काठमाडौं आउजाउ गर्ने सार्वजनिक तथा मालवाहक सवारी साधन अहिले त्रिभुवन राजपथ, कान्तिलोकपथ, हेटौँडा–कुलेखानी–फाखेल सडक र सिस्नेरी सडक प्रयोग गर्ने सवारी साधनको संख्या बढेको छ ।

सडक अवरुद्ध भएपछि तनहुँको खैरेनीटार हुँदै डेढगाउँको बाटो र त्रिभुवन राजपथमर्फत काठमाडौं जानुपर्ने बाध्यता देखिएको छ । यस्तै तराई तथा पूर्वबाट आएका यात्रुवाहक सवारीका कारण कान्तिलोकपथ, हेटौँडा–कुलेखानी–फाखेल सडक र सिस्नेरी सडकमा पनि दबाव बढेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार उक्त मार्गमा सामान्यतया चल्नेभन्दा दोब्बर तेब्बर संख्यामा गाडी चल्न थालेका छन् । चाडपर्व नजिकिँदै गर्दा यात्रुबाहक साना तथा ठूला गाडीको भीडले जामको समस्या समेत बढेको उहाँले बताउनुभयो ।

यता, चाडपर्वलाई लक्षित गर्दै कान्तिलोकपथ प्रयोग गर्ने सवारी साधनका लागि विशेष व्यवस्था मिलाइएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले मंगलबार सूचना जारी गर्दै असोज ७ गतेदेखि कोजाग्रत पूर्णिमा अर्थात् असोज २१ गतेसम्म नयाँ नियम लागू गर्ने जनाएको छ । यस अनुसार अधिकतम ३० टन भारवहन क्षमता र १० चक्कासम्मका सवारी साधनले मात्र कान्तिलोकपथ प्रयोग गर्न पाउनेछन् । यिनले तोकिएका प्रस्थान विन्दु बेलुकी ९ बजेसम्म अनिवार्य पुगिसक्नुपर्ने व्यवस्था गरिएको छ ।

यस अवधिमा कान्तिलोकपथ प्रयोग गर्ने गाडीका लागि दुई प्रवेश विन्दु तोकिएका छन् । मकवानपुरतर्फ बागमती गाउँपालिका–२, बगुवा र ललितपुरतर्फ गोदावरी नगरपालिका–६ टीकाभैरव प्रवेश विन्दु कायम गरिएको प्रशासनले जनाएको छ । प्रशासनका अनुसार चाडबाडमा देखिने भिडभाडलाई व्यवस्थित गर्न, सडक दुर्घटनाको सम्भावना कम गर्न र काठमाडौं–तराई यातायातलाई सहज बनाउन यो व्यवस्था गरिएको हो ।

Exit mobile version