Home मुख्य समाचार विश्व रेबिजबिरुद्धको दिवस मनाइयो

विश्व रेबिजबिरुद्धको दिवस मनाइयो

हेटौंडा : प्रत्येक वर्ष सेप्टेम्बर २८ मा संसारभर मनाइँदै आएको विश्व रेबिजबिरुद्धको दिवस २०२५ को अवसरमा बागमती प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले विविध कार्यक्रम आयोजना गरेको छ । निर्देशनालयले मंगलबार र बुधबार दुई दिन रेबिजबिरुद्ध सचेतनाका लागि विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाएको हो ।

बुधबार निर्देशनालयले स्वास्थ्य निर्देशनालयसँगको समन्वयमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका डा सुवास क्षेत्री, स्वास्थ्य निर्देशनालयका डा सिम्रन श्रेष्ठ र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका डा सलिना श्रेष्ठले रेबिज रोग सर्ने माध्यम, सर्ने कारण, लक्षणहरु र बच्ने उपायलगायतका विषयमा सचेतनामूलक सामग्रीहरु प्रस्तुत गनुभएको थियो ।

कार्यक्रममा मंगलबार सम्पन्न विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गरेका विद्यार्थीहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गरिएको थियो । प्रतियोगितामा प्रथम भएकी ज्ञानदा माविकी प्रत्युसा स्याङ्तानले नगद ५ हजार प्राप्त गरेकी छिन् । दोस्रो हुने अमर माविकी रोशिका भट्टराईले नगद ३ हजार र तृतीय हुने ज्ञानदा माविकी करिश्मा रोकायाले नगद २ हजार प्राप्त गरेका छन् । यस्तै, प्रतियोगितामा सान्त्वना हुने श्रमिक माविकी एसिला बस्नेत र भूटनदेवी माविकी सरगम चौलागाईंलाई नगद १÷१ हजार प्राप्त गरिएको छ ।

कार्यक्रममा सहभागी विद्यालयका शिक्षकहरु, विद्यालय नर्सहरु, स्वास्थ्य निर्देशनालय अन्तर्गतका कर्मचारीहरु तथा पशु सेवा कार्यालयका कर्मचारीहरुलगायतको उपस्थिति थियो । विश्व रेबिजबिरुद्धको दिवसको अवसरमा प्रदेशका ८ वटा पशु सेवा कार्यालयहरुमार्फत सेप्टेम्बर २८ सम्म पाल्तु जनावरलगायतका कुकुरहरुलाई निःशुल्क रुपमा रेबिजबिरुद्ध खोप लगाइने निर्देशनालयले जनाएको छ ।

Exit mobile version