Home अर्थ/व्यापार हेटौँडामा सुपथ तथा सस्तो मूल्यको खाद्यान्न बजार संचालन

हेटौँडामा सुपथ तथा सस्तो मूल्यको खाद्यान्न बजार संचालन

बजारको उद्घाटन गर्नुहुँदै जिप्रका मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ

हेटौँडा : नेपालीहरूको महान पर्व विजयादशमीलाई लक्षित गर्दै मकवानपुर उद्योग वाणिज्य संघले मंगलबारदेखि सुपथ तथा सस्तो मूल्यको खाद्यान्न बजार संचालनमा ल्याएको छ । हेटौँडा–२, पल्पसा सदन सुरू भएको यो बजार मंगलबारदेखि असोज ११ गते शनिबारसम्म सञ्चालन हुनेछ भने कारोबारको अवस्था हेरी थप दिन कायम राख्न सकिने आयोजकले जनाएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघको आयोजना तथा मकवानपुर अधिकृत बिक्रेता व्यवसायी संघको संयोजकमा संचालन गरिएको सुपथ मूल्य बजारको उद्घाटन जिल्ला प्रशासन कार्यालय मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले गर्नुभएको हो । यसपटक १६ वटा स्टलमार्फत चिनी, नुन, तेल, साबुन, सर्फ, चिउरा, फुरनदाना, दालमोठ, भुजिया, जिरा, धनियाँ, मसला, चियापत्ती, पिठो जस्ता दैनिक उपभोग्य वस्तुहरू राखिएका छन् । बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुने बजारमा दुग्ध विकास संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनका सामग्रीहरू समेत खरिद गर्न सकिने संघका बाणिज्य तर्फका उपाध्यक्ष तथा कार्याक्रम संयोजक राजु अधिकारीले जानकारी दिनुभयो ।

सहुलियत पसलमा उद्घाटनकै दिन बिहानैदेखि उपभोक्ताको भीड देखिएको थियो । आयोजकले पहिलो दिनमै लाखौं रुपैयाँ बराबरको कारोबार भएको अनुमान गरेको छ । दसैंमा आवश्यक वस्तुहरूलाई लक्षित गरिएको यस बजारमा मासुजन्य परिकार र अण्डा जस्ता अन्य आइटम पनि थप्ने तयारी भइरहेको संघले जनाएको छ ।

Exit mobile version