Home मुख्य समाचार जेन–जेड पुस्ताको आन्दोलन : परिवर्तनको खोजीमा आशा र पीडाको कथा

जेन–जेड पुस्ताको आन्दोलन : परिवर्तनको खोजीमा आशा र पीडाको कथा

नेपालको राजनीतिक इतिहास आन्दोलनबिना कहिल्यै पूर्ण भएको छैन । २००७ सालको पहिलो जनआन्दोलनदेखि आजसम्म असमानता, दमन, भ्रष्टाचार र अवसरहीनताले बारम्बार आम नेपालीलाई सडकमा उभ्याइरहेको छ । आठ पटकको ठूलो आन्दोलनको अनुभवपछि राष्ट्रले २०७२ सालमा नयाँ संविधान निर्माण गरेको थियो । तर संविधानले धेरै नागरिकको आशा पूरा गर्न सकेन । ‘सबै जात, वर्ग र समुदायलाई समेट्छ’ भन्ने वाचा भए पनि कार्यान्वयन कमजोर रह्यो र कतिपय नागरिकले आफ्ना हक–अधिकार सुरक्षित नभएको अनुभव गरे ।

यही असन्तोष र अपूर्णताको पृष्ठभूमिमा नयाँ पुस्ता जेन–जेड आन्दोलनको अगुवाई गर्दै सडकमा उभियो । विद्यार्थी र युवा वर्गले भ्रष्टाचार अन्त्य, पारदर्शी शासन प्रणाली, गुणस्तरीय शिक्षा–स्वास्थ्य सेवा, सामाजिक निषेधको अन्त्य र आर्थिक अवसर सुनिश्चित गर्न माग उठाए । उनीहरूले प्रणालीगत सुधारको आवश्यकता औँल्याए र नेपाली समाजमा आफ्नो सक्रिय भूमिका देखाए ।

तर आन्दोलनले प्रारम्भिक उद्देश्यभन्दा बाहिर गएर नेपाली दाजुभाइ र दिदीबहिनीबीच भ्रम, द्वन्द्व र असहमति सिर्जना गरेको देखिएको छ । साझा उद्देश्यका लागि सुरु भएको आन्दोलन हतार–हतार, असंगठित र अराजक प्रवृत्तिमा सीमित रह्यो । सडकमा हिंसा, तोडफोड, आगजनी र अन्धाधुन्ध गोली प्रहारले मात्र शान्ति नष्ट गरेन, राष्ट्रिय एकता र सामाजिक भाइचारामा गहिरो चोट पु¥यायो । बुद्धले सिकाएको शान्तिको सन्देशलाई हिंसामा परिणत गर्दै, सडकहरू धुवाँ, आगो र धुलोले ढाकिएको दृश्यले देशभरका नागरिकलाई स्तब्ध बनायो ।

युवाहरूले भ्रष्ट नेताहरू र उनीहरूको विलासी जीवनशैली उजागर गर्न चाहे पनि सिर्जनात्मक सुधार र प्रणालीगत परिवर्तन नगरिकन आन्दोलन हतार–हतार चलेको छ । आन्दोलनले संविधानको पालनालाई नजरअन्दाज गर्दै केवल अराजकता र व्यक्तिगत स्वार्थका लागि काम गरेको देखिन्छ । यसले नेपाली जनतामा निराशा बढाएको छ र साझा परिवर्तनको अवसर गुमाएको छ । विदेशी प्रभाव र आन्तरिक स्वार्थको मिश्रणले आन्दोलनलाई अझ जटिल बनाएको छ । कतिपयले यसलाई ‘देशभित्रको आन्दोलनभन्दा बाहिरी षड्यन्त्र’ जस्तो देख्ने स्थिति सिर्जना भयो । यसले जनताबीच अविश्वास फैलायो र आन्दोलनको उद्देश्य–जनताको माग पूरा गर्नु–अधुरो रह्यो ।

तथापि, जेन–जेडको आन्दोलनले एउटा स्पष्ट सन्देश दिएको छ । युवा पुस्ताले भ्रष्टाचार र अन्यायविरुद्ध आवाज बुलन्द पारेको छ । तर यो आवाज केवल अराजकता, हिंसा र द्वन्द्वमा सीमित रहनु हुँदैन । नेतृत्वलाई जवाफदेही बनाउने, नीति सुधार र सामाजिक परिवर्तनका लागि साझा प्रयास गर्ने दिशा आवश्यक छ ।

आजको अवस्थामा स्पष्ट देखिन्छ जनताको सुख, शान्ति र राष्ट्रिय भाइचारा भन्दा माथि कुनै आन्दोलन वा वाद हुनु हुँदैन । हामीले साझा प्रयास, भाइचाराको बल, जिम्मेवार नेतृत्व र नीति सुधारमा ध्यान दिनुपर्छ । युवापुस्ताले पार्टीगत मतभेद भन्दा माथि उठेर एउटै स्वरमा आवाज उठाउनुपर्छ, ताकि देशको साझा हितमा वास्तविक सुधार सम्भव होस् ।

अन्ततः, नेपालको युवापुस्ताले बुझ्नुपर्छ साझा एकता, जिम्मेवार नेतृत्वको माग र समाज सुधारमा साझा प्रयास बिना वास्तविक परिवर्तन सम्भव छैन । हामीले भाइचारालाई बलियो बनाउँदै, नेतृत्वलाई जवाफदेही बनाउँदै, नीति सुधार र सामाजिक न्यायमा एक जुट भएर काम गर्नु पर्छ, ताकि हाम्रो राष्ट्र शान्ति, समृद्धि र न्यायको क्षेत्र बन्न सकोस् ।

जेन–जेडको आन्दोलनले देखाएको एउटा स्पष्ट सन्देश यही हो हाम्रो साझा भविष्य, राष्ट्रिय एकता र जनताको हित सबैभन्दा महत्वपूर्ण छ । यदि हामीले यसलाई पहिचान गरेर जिम्मेवार, एकताबद्ध र साझा प्रयासमा ध्यान दिन सके, मात्र हाम्रो राष्ट्रले नयाँ दिशा र उज्जवल भविष्य पाउन सक्छ ।

Exit mobile version