बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवन ।

हेटौंडाः बागमती प्रदेशले गत आर्थिक वर्ष २०७६/०७७ मा कुल बजेटको ५८ प्रतिशत मात्रै खर्च गरेको छ । कुल बजेट ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँमध्ये २७ अर्ब ९५ करोड ७१ लाख १७ हजार रुपैयाँ मात्र खर्च भएको बताइएको छ । बागमती प्रदेश सरकारले गत वर्षमा चालुतर्फ ६०.११ प्रतिशत र पुँजीगत खर्च तर्फ ५७.७८ प्रतिशत खर्च गरेको छ भने सोही अवधीमा अनुमानित आयको ९९.४५ प्रतिशत अर्थात ४७ अर्ब ३४ करोड ७९ लाख संकलन गरको छ ।

बिहीबार बागमती प्रदेशको नीति तथा योजना आयोगले गरेको वार्षिक समीक्षा कार्यक्रममा यस्तो जानकारी दिइएको हो । बागमती प्रदेशको सबै मन्त्रालय र मातहतका निकायले गरेको खर्च ५७.७२ प्रतिशत रहेको नीति तथा योजना अयोगका कार्यबाहक उपाध्यक्ष श्याम बस्नेतले जानकारी दिनुभयो ।

प्रदेश नीति तथा योजना आयोगका कार्यबाहक उपाध्यक्ष शयाम बस्नेतले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले समीक्षामा आएका सुझावहरुबाट चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले गत आर्थिक वर्षको तेस्रो चैमासिक अवधिमा चैत्र महिनाबाट कोभिड महामारीको अवस्थामा पनि बागमती प्रदेश सरकारले भौतिक दूरी कायम राख्दै भौतिक निर्माणको कार्यलाई निरन्तरता दिन सक्दा यो उपलब्धी हासिल भएको बताउनुभयो । आर्थिक मामिला तथा योजना मन्त्रीले कैलाश प्रसाद ढुङ्गेलले प्रदेश सरकारको योजना तथा कार्यक्रमको उपलब्धी लक्षित वर्गले प्राप्त गर्न सक्ने गरी कार्यान्वयन गरिनु पर्नेमा जोड दिनुभएको छ ।

यसैगरी बागमती प्रदेशका प्रमुख सचिव डा. मान बहादुर बिकेले कोभिड–१९ को अवस्थालाई अनुकुलन गर्दै विकास निर्माणमा लाग्नु पर्ने बताउनुभएको थियो । यस्तै हिजो भएको समीक्षाले आगामी दिनमा विकास निर्माणका कार्यक्रम सञ्चालन गर्दा कोभिड १९ को प्रभाव न्युनीकरण गर्ने गरी मानव जीवनको रक्षा र जीविकोपार्जनका माध्यमको सुरक्षालाई केन्द्रविन्दुमा राखी कार्यक्रमहरु सञ्चालन गरिने निष्कर्षमा पुगेको नीति तथा योजनाका कार्यवाहक उपाध्यक्ष श्याम बस्नेतले बताउनुभयो । समीक्षा कार्यक्रममा बागमती प्रदेशका सबै मन्त्री, मन्त्रालयका सचिवका साथै अनलाईन जुम एपबाट पनि मातहतका निकायहरुका प्रमुखहरुको उपस्थिति रहेको थियो ।