हेटौँडा : जेन जी युवाको आन्दोलनका क्रममा तोडफोड तथा आगजनीका कारण ठूलो क्षति व्यहोरेको हेटौँडा उपमहानगरपालिकाका लागि मकवानपुर होटल एसोसिएसनले कम्प्युटर सामग्री सहयोग गरेको छ । आइतबार उपमहानगरपालिकाको कार्यालयमा एसोसिएसनका अध्यक्ष दिलिश गोविन्द जोशी नेतृत्वको होटल व्यवसायीले नगरप्रमुख मीनाकुमारी लामालाई १ लाख ७४ हजार रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरेको छ ।
कम्प्युटर, प्रिन्टर, कम्प्युटर टेबल र कुर्सी २÷२ थान प्रदान गरिएको हो । मकवानपुर होटल एसोसिएसनका महासचिव हरिगोपाल सापकोटाका अनुसार जेन जी आन्दोलनका क्रममा क्षति पुगेका वडा कार्यालयहरुमा प्रयोग गर्ने गरी सहयोग गरिएको जानकारी दिनुभयो । आन्दोलनपछि क्षति पुगेको उपमहानगरपालिकाको निरीक्षण गर्न जाने क्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले सहयोग गर्ने मनसाय र अवस्था भए क्षति पुगेका वडाका लागि उपकरण उपलब्ध गराउन आग्रह गर्नुभएसँगै एसोसिएसनले सहयोग गरेको महासचिव सापकोटाले बताउनुभयो ।
