हेटौँडा : चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण यहि असोज २३ गतेबाट सन्चालन हुने भएको छ । आयोजक चैनपुर जेसीज मनहरीको शनिबार मनहरी–३, लामिटारस्थित सचिवालयमा बसेको तेस्रो बोर्ड बैठकले २३ गतेबाट जेसीज कप खुला फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।
प्रतियोगिता आयोजनाको निर्णयसँगै आयोजकले फुटबलको तयारीलाई समेत अघि बढाएको छ । चैनपुर जेसीज मनहरीले स्थापनाकालदेखि नै प्रतियोगितालाई सन्चालन गर्दै आएको छ । गत वर्ष झैं यस वर्षको प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार एक सय ११ रुपैयाँ तथा उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार तथा विधागत उत्कृष्टले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजक चैनपुर जेसीज मनहरीका अध्यक्ष कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।
‘हामीले स्थापनाकालदेखि नै जेसीज कप खुला फुटबल प्रतियोगितालाई निरन्तरता दिँदै आएका छौँ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्यमा सक्रिय यस जेसीजले यो प्रतियोगितालाई विशेष महत्व दिँदै आएको छ’, अध्यक्ष ढकालले भन्नुभयो, ‘हाम्रो यो प्रयासलाई मनहरी गाउँपालिकाका वडा कार्यालय, मनहरी गाउँपालिकासहित विभिन्न संघसंस्थाले विशेष सहयोग पु¥याउँदै आएको छ ।’ कात्तिक १ गतेसम्म सन्चालन हुने प्रतियोगितामा १२ देखि १६ वटा टिमको सहभागिता रहने अपेक्षा रहेको प्रतियोगिता संयोजक समेत रहेका जेसीजका कार्यकारिणी उपाध्यक्ष मनोज बिष्टले जानकारी दिनुभयो ।
प्रतियोगिताका लागि करिब साढे ६ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ । प्रतियोगिताको पहिलो संस्करणको उपाधि बागमती प्रदेश प्रहरी गणले र दोस्रो संस्करणको उपाधी मकवानपुरगढी जेसीजले जितेको थियो । खेल मनहरी गाउँपालिका–४ स्थित गोलघर खेलमैदानमा हुनेछ । जेसीजको बैठकमा मुख्य प्रायोजक मनहरी ४ का वडा अध्यक्ष प्रकाश थापा, जेसीजका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी लगायतको उपस्थिति रहेको थियो । वडा अध्यक्ष थापाले प्रतियोगितालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न वडाको तर्फबाट पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले यस प्रतियोगितालाई वडा र आफूले विशेष महत्व दिँदै आएको बताउनुभयो ।
