हेटौँडा : सामाजिक सञ्जालमा आधारित समूह ‘एमआरआर’ ले जेन जी आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरुको आत्माको चिर शान्तिको कामना गर्दै शनिबार हेटौँडाको बुद्धचोकमा दीप प्रज्वलन गरेको छ ।
भदौ २३ र २४ गते भएको जेन जी युवाको आन्दोलनका क्रममा निधन भएकाहरूको सम्झनामा एमआरआरले दीप प्रज्वलन गरेको हो । जेन जी आन्दोलनका क्रममा मृतकको संख्या ७४ पुगेको छ । अझै केही सम्पर्कविहिन छन् । जेन जी आन्दोलनका क्रममा देशभर सार्वजनिक तथा निजी भौतिक सम्पत्तिमा अकल्पनीय क्षति पुगेको छ । जेन जी आन्दोलनबाट केपी ओली नेतृत्वको सरकार परिवर्तन भएर नागरिक सरकारको रुपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ ।
जेन जी आन्दोलनको क्रममा मकवानपुरमा पनि अकल्पनीय भौतिक क्षति भए पनि मानवीय क्षति भने भएको थिएन । हाल एमआरआरमा ५३ हजार सदस्यहरू आबद्ध रहेको समूहका सदस्य लक्ष्मण पौडेलले बताउनु भयो । सन् २०११ मा एउटा निजी फेसबुक पेजको रूपमा स्थापना भएको एमआरआर सामाजिक कार्यहरूमा सक्रिय रहँदै आएको छ ।
