Home खेलकुद तेक्वान्दो संघमा पुनः लालकाजी रत्न बज्राचार्य

तेक्वान्दो संघमा पुनः लालकाजी रत्न बज्राचार्य

दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित लालकाजी रत्न बज्राचार्य ।

हेटौंडा : जिल्ला तेक्वान्दो संघ मकवानपुरको अध्यक्षमा पुनः लालकाजी रत्न बज्राचार्य चयन हुनुभएको छ । शनिबार हेटौँडामा सम्पन्न संघको सातौँ अधिवेशनबाट दोस्रो कार्यकालका लागि बज्राचार्य सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो । नवनिर्वाचित समितिको कार्यकाल चार वर्षको हुनेछ ।

अधिवेशनबाट अध्यक्षमा बज्राचार्यसँगै कोषाध्यक्षमा रविन्द्र डंगोल सर्वसम्मत निर्वाचित हुनुभएको हो भने उपाध्यक्षमा विमल बिश्वकर्मालाई पराजित गर्दै निरु मगर निर्वाचित हुनुभयो । यस्तै सदस्यमा ओमबहादुर मोक्तान, सुरशा ढुंगाना, शिवहरि राई, हरि भुजेल र पवन अगस्ती निर्वाचित हुनुभयो । निर्वाचनपछि अध्यक्ष बज्राचार्यले उपाध्यक्षमा मानबहादुर वाईबा र सचिवमा ओमबहादुर मोक्तानलाई मनोनित गर्नुभयो । यस्तै सदस्यमा गोपाल सुनार, विवेक राई, माधवलाल श्रेष्ठ र पुरुषोतम रुपाखेतीलाई मनोनित गर्नुभयो ।

नयाँ समिति चयनपछि खिचिएको सामूहिक तस्वीर ।

अधिवेशनमा सचिव ओमबहादुर मोक्तानले वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीको प्रमुख आतिथ्यता अधिवेशनको उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष राजकुमार मोक्तान, नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य गुरुप्रसाद गौतम, बागमती प्रदेश समिति सदस्य कवि मालाकारको पनि आतिथ्य रहेको थियो ।

मकवानपुरमा २५ वटा तेक्वान्दो डोजाङ सञ्चालनमा रहेको अध्यक्ष बज्राचार्यले जानकारी दिनुभयो । डोजाङ सञ्चालनमा आएको २ वर्षपछि अधिवेशनमा मताधिकारसहित प्रतिनिधित्व गर्ने अवसर रहने उहाँको भनाइ छ । पछिल्लो समय समुदायस्तर र विद्याालय तहमा पनि तेक्वान्दोको नियमित प्रशिक्षण कार्यक्रम विस्तार हुँदै गएको छ । सामाजिकीकरण, स्वास्थ्यका साथै आत्मरक्षाका लागि तेक्वान्दो खेलको लोकप्रियता बढ्दो छ ।

Exit mobile version