हेटौँडा : बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवम् नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेलले हालै सडकमा देखिएको युवाहरुको आन्दोलन र जनअसन्तुष्टिको जिम्मेवारी प्रमुख राजनीतिक दलहरुले लिनुपर्ने बताउनुभएको छ । उहाँले दलहरुले आफैँलाई नसच्याए र रुपान्तरण नगरे देशले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिनुभयो ।
संविधान दिवसको अवसरमा बागमती प्रदेश सरकारद्वारा शुक्रबार हेटौँडामा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै हालैका युवाहरुको सडक प्रदर्शनको पछाडि कुन शक्ति छ भन्नेतर्फ नलागी, त्यो प्रदर्शन हुनुको मुख्य कारण दलहरुको कमजोरी नै भएको स्वीकार्नुपर्ने उहाँको भनाई छ । उहाँले देश गम्भीर राजनीतिक संकटमा फसेको बताउनुभयो । नेता जम्कट्टेलले वर्तमान सरकारलाई संविधानले नचिन्ने टिप्पणी समेत गर्नुभयो ।
‘व्यवस्था परिवर्तन भए पनि काम गर्ने शैली परिवर्तन नहुँदा जनताले परिवर्तनको अनुभूति गर्न सकेनन् । जनताको पहुँच र आवश्यकतामा आधारित विकास हुन नसक्दा असन्तुष्टि बढेको हो । हामीले आफूलाई सच्याएनौं र रुपान्तरण गरेनौं भने फेरि अर्को दुर्घटना हुन्छ । अहिले युवाहरूले सडकमा ओर्लिएर जुन धावा बोले त्यो म माथि पनि हो । यसरी बुझ्नुपर्छ अब । त्यसलाई नकारात्मक ढंगले लिनु वा व्याख्या गर्नु गलत हो ।’ उनले भने, ‘अहिले प्रतिनिधिसभा विघटन भएको । निर्वाचित जननिर्वाचित संघीय सरकार विघटित छ र अहिले संविधान तथा व्यवस्थाभन्दा बाहिरबाट सकार बनेको छ । अहिलेको सरकारलाई संविधानले चिन्दैन , संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले चिन्दैन । प्रदेश संरचनाहरुमाथि यो राख्नु हुँदैन भन्ने प्रश्नहरु उठिराखेका छन् । अब हामीले समीक्षा गर्ने बेला आएको छ ।’
उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रले समावेशिता, समानुपातिक प्रतिनिधित्व जस्ता महत्वपूर्ण उपलब्धि दिए पनि दलहरुको कार्यशैलीका कारण जनतामा निराशा छाएको बताउनुभयो । समस्या समाधानका लागि शासकीय स्वरुप परिवर्तन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेता जम्कट्टेलले अस्थिरताको कारक समानुपातिक प्रणाली नभई राजनीतिक नेतृत्वको कमजोरी भएको भन्नुहुँदै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थाका लागि संविधान संशोधन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउनुपर्नेमा जोड दिनुहुँदै उहाँले भ्रष्टाचारका मुद्दामा जोसुकै भए पनि कारबाही गर्न आँट गर्नुपर्ने बताउनुभयो । राजनीतिक नेतृत्व, कर्मचारी प्रशासनलगायत सबै पक्षले सुशासनको पक्षमा दृढतापूर्वक उभिनुपर्ने र जनताको आवाजलाई सम्बोधन गर्नुपर्ने बेला आएको उहाँको भनाई छ ।
