हेटौँडा : जेन जी आन्दोलनका क्रममा भदौ २४ गते आफ्नो घरमा भएको तोडफोडको सन्दर्भलाई लिएर बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार सामाजिक सञ्जालमार्फत धम्कीपूर्ण अभिव्यक्ति दिनुभएको छ । मंगलबार दिउँसो करिब ४ बजेको समयमा सामाजिक सञ्जाल फेसबुकमा ‘म हेरी रहे’ शीर्षक नै राखेर पौडेलले आफ्नो अभिव्यक्ति प्रस्तुत गर्दै गर्नुहुँदा अश्लिल आशय समेत प्रकट गर्नुभएको छ ।
भ्रष्ट्राचारविरुद्ध भनिएको जेन जी आन्दोलनका क्रममा हेटौँडा–११, नवलपुरस्थित आफ्नो निजी निवासमा क्षति पुगेपछि चित्त दुखाउनुभएका पौडेलले लेख्नुभएको छ, ‘एउटा चुनौती दिन्छु यदि आफ्नै बाबुले जन्माएको छोरो छ भने ।’ पौडेलले यो वाक्यांशले अरुलाई चुनौति दिँदै गर्दा सामाजिक मर्यादाको ख्याल गरिएको छैन । मंगलबार दिउँसो करिब ४ बजेको समयमा पौडेलले आफ्नो दुख लेख्दै गर्नुहुँदा जेन जी आन्दोलनका क्रममा ७३ जनाको ज्यान गएको पुष्टि भइसकेको थियो । अझै केही बेपत्ता छन् । आन्दोलनका क्रममा मृत्यु भएका युवाको काठमाडौंस्थित पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि हुँदै गर्दा प्रथम मुख्यमन्त्री पौडेलले मृतकहरु प्रति श्रद्धाञ्जली समेत व्यक्त गर्नुभएको छैन । यसअघि सोमबार २ बजेर ५७ मिनेटको समयमा सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्नुभएको एउटा आक्रोशपूर्ण अभिव्यक्तिमा पनि मुलुकले व्यहोर्नु परेको दुःखलाई व्याख्या गर्न ध्यान पुगेको छैन ।
मंगलबार दिउँसोसम्ममा जेन जी आन्दोलनका क्रममा ७३ जनाको ज्यान गएको, राष्ट्रिय सम्पत्ति, राष्ट्रपति कार्यालय, सिंहदरबार, प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत, राष्ट्रपति, प्रधानमन्त्रीको निजी निवास, सरकारी संरचना, आफू दुई पटक नगरप्रमुख भएको हेटौँडा उपमहानगरपालिकाको कार्यालय, नजिकैको वडा कार्यालयमा पुगेको क्षति, पूर्वप्रधानमन्त्री, परराष्ट्रमन्त्रीमाथि भएको दूव्र्यवहारमा पनि पौडेलले दुख व्यक्त गर्नुभएको छैन । तर, मुख्यमन्त्री पौडेलले आफ्नो घरमा भएको तोडफोड र आगजनीको घटनालाई मात्रै प्रस्तुत गर्नुभएको छ । अझ उहाँले आन्दोलनकारीले घरमा आगजनी र तोडफोड गरिरहँदा रोक्ने २, ४ जना छिमेकीलाई धन्यवाद दिनुहुँदै आफ्नो घरमा आगोलागी हुँदै गर्दा ५० मिटर टाढा उभिएर तमाशा हेर्ने सयौं गाउँलेहरु आगो निभाउन समेत नआएको भन्दै सबैलाई नमन गरेर आक्रोश पोख्नुभएको छ ।
भदौ २४ गतेका दिन सरकारी वा सार्वजनिक सम्पत्तिमाथि आग्रह–पूर्वाग्रह राखेर क्षति पुर्याएको कार्यप्रति आम सचेत नागरिकले दुख व्यक्त गरेका छन् । तर, प्रथम मुख्यमन्त्री, राजनीतिक एवम् सार्वजनिक जीवनमा आफूलाई अगुवा ठान्ने, राजनीतिक एवम् सामाजिक जीवनमा कतिपयले अगुवा समेत ठानिएका ज्येष्ठ व्यक्तिले आफ्नो क्षतिलाई मात्रै लिएर सार्वजनिकरुपमा धम्कीपूर्ण अभिव्यक्ति दिनुलाई सामान्य मान्न सकिन्न । अझ अश्लिल आशयका अभिव्यक्ति, टोल–छरछिमेकका व्यक्तिमाथि आक्रोश पोख्नु उत्तिकै आपत्तिजनक छ । नेकपा एमालेका केन्द्रीय कमिटीका सल्लाहकार समिति सदस्य समेत रहनुभएका पौडेलले धम्कीपूर्ण अभिव्यक्ति दिनुअघि नेकपा एमालेका विभिन्न तह र तप्कामा रहेका नेता, कार्यकर्ताले पनि सामाजिक सञ्जालमार्फत खुलेआम धम्कीपूर्ण अभिव्यक्ति प्रस्तुत गरेका छन् ।
सोमबार हेटौँडा–१० स्थित वनविज्ञान क्याम्पस अघि एक युवामाथि सांघातिक आक्रमण समेत भएको थियो । जेन जी युवाको आन्दोलनको क्रममा आगजनी तथा तोडफोडमा सक्रिय देखिएका उनलाई आक्रमण गर्ने एमालेकै कार्यकर्ता भएको भनी उनले आरोप लगाएका छन् । यस्तो पृष्ठभूमिका राज्यको महत्वपूर्ण जिम्मेवारीमा बसिसकेका व्यक्तिले कानूनी उपचारको बाटोमा जान सकिने अवस्था प्रसस्त रहँदा रहँदै सार्वजनिकरुपमा धम्कीपूर्ण अभिव्यक्तिले समाजमा डर, त्रास र भय बढाउने स्थिति छ ।
पौडेलले आफ्नो ५४ वर्षे राजनीतिक, सामाजिक जीवनको योगदानका बारेमा पनि लेख्नुभएको छ । पौडेलले घर अगाडिको छाप्रो स्कूललाई १२ कक्षासम्म पठनपाठन हुने बनाएको, पञ्चायतकालमा जेल जीवन बिताएको, हेटौँडा नगरपालिकाको प्रमुख भएर नगरको विकास गरेको, मुख्यमन्त्री हुँदा हेटौँडा नगरभित्रका पिछडिएका क्षेत्रको रुपान्तरण गरेको, हेटौँडामा प्रदेशको राजधानी कायम गरेको दावी समेत गर्नुभएको छ ।
उहाँले २० वर्षदेखि पूर्ण हुन नसकेको सिटिइभिटीलाई लगाएको, २ दशकदेखि सम्पन्न हुन नसकेको गौरीटार रंगशालालाई जीवन दिएको, हेटौँडा अस्पताललाई ५०० शैया शिक्षण अस्पताल बनाउन लागेको, कृषिको सुपर मार्केट बनाएको, दुध प्रशोधनको कारखाना बनाएको, विश्वविद्यालयको जग हालेको, हेटौँडालाई शिक्षा र स्वास्थको हव बनाएको पनि दावी गर्नुभएको छ । पौडेलले अपूर्ण योजना, योजना सम्पन्न भएर कार्यान्वयनमा आउन नसकेको योजनालाई आफ्नो योगदानको सूचिमा समावेश गर्नुभएको छ ।
पौडेलले लेख्नुभएको छ, ‘५४ वर्षमा कसैको एक रुपैया खाएको, भ्रष्ट्राचार र अनियमितता गरेको छ भने पुष्टी गरेर देखाओस्, अनुसन्धान गरोस्, प्रमाणित गरोस्, अगाडि आएर मसँग बोल्ने हिम्मत गरोस् म आत्मदाह गर्न तयार छु । होइन भने तिमीहरका आगो झोस्नेको अनुहार मेरा सबै परिवारको आँखा अगाडी नाचि रहनेछ, नाचि रहने छ । जबसम्म ………..’
